गृहपृष्ठ कोरोना र भोकमरीसँग लड्नुपर्ने घडीमा सत्ताको उन्माद देखाउनु इतिहासकै दुःखद घटना : देउवा

कोरोना र भोकमरीसँग लड्नुपर्ने घडीमा सत्ताको उन्माद देखाउनु इतिहासकै दुःखद घटना : देउवा

संविधानको मर्म विपरीतका अध्यादेश तत्काल फिर्ता लिन माग

sherbahadur_deuba

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणसँग पुरै विश्व एक भएर लडिरहेको बेलामा नेपाल सरकारले सोमबार दुई अध्यादेश जारी गरेकोप्रति गम्भीर असहमति जनाएका छन् । यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको देउवाको भनाइ छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषदसम्बन्धी र राजनैतिक दलसम्बन्धी दुई अध्यादेश सिफारिस गरेको थियो । सो विधेयक आजै साँझ राष्ट्रपतिद्वारा प्रमाणीकरणसमेत भइसकेकाे छ ।

‘कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबैखाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसम्भव सघाउँदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी हो,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘आजको संविधान निर्माण गरिँदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । सँगै संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै व्यवस्थालाई हठात उल्लंघन गरेको छ,’ देउवाले भनेका छन् ।

देउवाले अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपीलसमेत गरेका छन् ।

प्रकाशित समय २०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु