गृहपृष्ठ अघोषित युद्ध

अघोषित युद्ध

आज पनि आकाश रुँदै थियो
करोडौँ आँखाहरु रसाएर बनेको
समुद्रमा तिमी आजै
डुंगामा चढेर सयर गर्दै छौ ?

तिम्रो पादुर्भावलाई लिएर आज
विश्वभरि चर्चा परिचर्चा भइरहँदा
मानवजगतलाई गतिहीन बनाएर
तिमी ज्यमितीय गतिमा दौडिरहेछौ ?

के तिमी प्राकृतिक दोहनको पराकाष्ठा
सहन नसकी प्रतिशोधको ज्वाला बोकेर आयौ ?
कि थोमस माल्थसको जनसांख्यिकी सिद्धान्तलाई
प्रमाणित गर्न आयौ ?

विश्व शान्ति भंग गर्न
जन्माइएको जैविक क्षेप्यास्त्र हौ त ?
कि राजा परिक्षितले कलियुगलाई प्रश्रय दिएझैँ
वुहानले दियो र तिमीलाई बास ?

विज्ञान नै अन्यौलमा छट्पटाइरहेछ
कति जीवनहरु भष्म हुँदै छन् भनेर
मलाई कता कता लाग्छ
नेपथ्यमा लुकेर बसेको यमदूत तिमी नै हौ ।

थाहा छैन तिम्रो जन्म किन भयो
सायद त्यसको पनि कारणहरु होलान्
अब ती सबै कारणहरु इतिहास बन्नेछन्
मर्स अनि सार्सहरुको जस्तै ।

सिद्धान्तभन्दा निकै फरक हुन्छ
विपस्यनाबाट प्राप्त ज्ञान
किनभने,
आफ्नै घरमा नजरबन्द हुँदा प्रत्येकले
चिडियाखानाको जनावरको मर्म बुझ्दै होलान् ।
कहिलेकाहीँ मन मान्दै मान्दैन शंका गरिरहन्छ
सोच्न बाध्य हुन्छु, के यो युद्ध थ्यो र १
एउटा अघोषित युद्ध
हामी र हाम्रोबीच ?
तिमी र हामी मानवजगतबीच ?

तर जे होस्, हामीलाई थाहा छ
सबै कुराको अन्त्य शाश्वत छ
तिम्रो अस्तित्वको होस् या
तिमीले जन्माएको
हामी अनि हामीबीचको
अथवा,
तिमी र हामीबीचको यो
अघोषित युद्धको अन्त्य निश्चित छ ।

प्रकाशित समय १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु