गृहपृष्ठ प्रधानमन्त्री भन्छन्‑ पार्टी एकतालाई थप सुदृढ तुल्याइन्छ
प्रधानमन्त्री भन्छन्‑ पार्टी एकतालाई थप सुदृढ तुल्याइन्छ
नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री एवं केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताएका छन् । नेकपा स्थापना दिवस एवं लेनिन जयन्तीका अवसरमा बुधबार जारी गर्दै वक्तव्यमा प्रधानमन्त्रीले भनेका छन्, ‘यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने विश्वास छ ।’
बितेका वर्षमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आएको तथा अनेकन् आरोह‑अवरोह र हण्डर‑ठक्करको सामना गर्दै संघर्षको नेतृत्व गरिरहेको स्मरण पनि उनले गरेका छन् । ‘सात दशकको अवधिमा लेनिनले स्थापना गरेको सोभियत संघ विघटन भयो तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा, स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि बिराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाई अघि बढायो ।’
सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोगमार्फत मौलिक एवं सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरंकुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिस्ट आन्दोलनले आजको उचाइ हासिल गरेको उनको वक्तव्यमा उल्लेख छ ।
सात दशकअघि अप्रिल २२ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । भि. आई. लेनिनको जन्म पनि आजकै दिन भएको हो । नेपालमा २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर २०७५ जेठ ३ गते सत्तारुढ नेकपा बनेको हो ।
प्रकाशित समय १०:३९ बजे

















