गृहपृष्ठ भारतीय सेना प्रमुखको भनाइ आपत्तिजनक : श्रेष्ठ
भारतीय सेना प्रमुखको भनाइ आपत्तिजनक : श्रेष्ठ
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखको लिपुलेकसम्बन्धी भनाइ आपत्तिजनक रहेको बताएका छन् । भारतीय सेना प्रमुख जनरल मनोज नरभानेले शुक्रबार भारतले आफ्नै भूमिमा सडक बनाएको बताएपछि प्रवक्ता श्रेष्ठले ट्विटरमार्फत आपत्ति जनाएका हुन् ।
चीनलाई संकेत गर्दै नरभानले कसैले उचालेर नेपालले लिपुलेकबारे विवाद गरिरहेको पनि टिप्पणी गरेका थिए । श्रेष्ठले नेपाल सार्वभौम र स्वतन्त्र देशको रूपमा उभिइरहेको उल्लेख गरेका छन् । कसैलाई नेपालको भूमि कब्जा गर्न र आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिन नसकिने उनले बताएका छन् ।
‘हाम्रो भूमिको रक्षा गर्न हामी प्रतिबद्ध छौं । हाम्रा पुर्खाले मातृभूमिलाई बचाए । उनीहरूप्रति बफादार भएर हामी भूमिको रक्षा गर्छौ,’ श्रेष्ठले भनेका छन् ।
प्रकाशित समय १६:५९ बजे

















