गृहपृष्ठ सरकारलाई १२० स्थानबाट कांग्रेसको विशेष ज्ञापनपत्र

सरकारलाई १२० स्थानबाट कांग्रेसको विशेष ज्ञापनपत्र

संखुवासभामा ज्ञापन पत्र बुझाइँदै । (तस्बिर : निरू बस्नेतको फेसबुकबाट)

कोरोना महामारी विरुद्धको संघर्षमा सरकारको प्रवृत्ति अर्कमण्यता, भ्रष्टाचार र गैह्र जिम्मेवार भएकाे भन्दै स्वदेश र विदेशका १२० स्थानबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार विशेष ज्ञापनपत्र बुझाएकाे छ । ज्ञापन पत्रमार्फत कोरोना विरुद्धको संघर्षमा समस्त नेपाली जनताको असन्तुष्टि, सुझाव र आग्रह सरकार एवं प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको नेपाली कांग्रेसले विज्ञप्तिमार्फत जनाएकाे छ ।

विशेष ज्ञापन पत्र बुझाएपछि कांग्रेसद्वारा जारी विज्ञप्ति :

सामाजिक दुरि कायम गर्दै, विशेष ज्ञापन पत्र निम्नानुसार बुझाइयो ।
१, संघीय संसद, संसदीय दलको तर्फबाट नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।
२, नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारको मुख्य मन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्य मन्त्री मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।
३, नेपाली कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।
४, विदेश स्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावास मार्फत् नेपाल सरकारका प्रधानमन्त्री समक्ष ।

कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र मार्फत निम्न माग सरकार समक्ष राखिएको छ ।
१, आरडिटी परिक्षण तत्काल रोकेर पीसीआर परिक्षणको दायरा ब्यापक बढाइनु पर्ने ।
२, स्वास्थ सामग्रीको अपर्याप्त स्थिति तत्काल अन्त्य गरेर अत्यावश्यक स्वास्थ सामग्रीको पर्याप्त ब्यवस्थापन गरिनुपर्ने ।
३, क्वारेन्टाइनमा मृत्यु देखि बलात्कार सम्मको घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कार्वाही गर्दै तत्काल देशब्यापी रूपमा क्वारेन्टाइनहरुलाई मापदण्डयुक्त बनाइनु पर्ने ।
४, श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका ब्यक्ति र एकल महिलाका लागि विशेष राहत प्रबन्ध गरिनुपर्ने ।
५, बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार क्रममा निर्धारित अत्यन्तै महंगो हवाई भाडा फिर्ता लिइ खर्च हाल्न नसक्ने स्थितिमा पुगेका श्रमिकलाई निःशुल्क उद्वार गर्नुपर्ने ।
६, स्वास्थ्य सामग्री खरिद भ्रष्टाचारका दोषीलाई कार्वाही र यस बीचमा भएको भनिएको दस अर्ब रकमको हिसाब सार्वजनिक गरिनुपर्ने ।
७, लक डाउनका कारण स्कुल कलेज बन्द भएर पचास लाख बढी नेपाली बिद्यार्थी मानसिक तनाव ब्यहोरिरहेका छन् । गम्भीर राष्ट्रिय विमर्श साथ उनीहरुको शैक्षिक भविष्य सुरक्षाका लागि विशेष कार्य योजना यथासिघ्र निर्माण गरिनुपर्ने ।
८, खेतिको मौसम मध्यनजर गरेर कृषि उत्पादनका सम्बन्धमा वातावरण, मल, बिउ देखि आवश्यक प्रोत्साहन सम्मको, समन्वयमा सम्बन्धित निकायहरुले तीब्र रुपले कार्य गर्नुपर्ने ।
९, लक डाउनका कारण साना–ठुला ब्यवसायीले भोग्नु परेको आर्थिक चुनौती सामना गर्न आवश्यक राहत योजना निर्माण गर्दै लक डाउन खुलेपछि मात्रै कर तिर्ने सहुलियतपूर्ण ब्यवस्थापन गरिनुपर्ने ।
१०, औधोगिक उत्पादनमा सरिक श्रमिक देखि श्रमजीवी पत्रकार सम्मको रोजगार सुरक्षा गर्दै, मिडिया हाउससम्मलाई विविध ढंगले राहत योजना ल्याइनुपर्ने ।

संघ, प्रदेश, जिल्ला र बिदेश स्थित जनसम्पर्क समितिहरुले यी सुझाव र मागहरू संगै अन्य आवश्यक सुझाव र माग समेटेर प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाइएको छ ।

सरकारलाई संकट सामना गर्न नेपाली कांग्रेसले निरन्तर खबरदारी गरिरहने छ ।

प्रकाशित समय २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु