गृहपृष्ठ महिला स्वतन्त्रताका लागि स्व सिंहको भूमिका महत्वपूर्ण : महामन्त्री कोइराला
महिला स्वतन्त्रताका लागि स्व सिंहको भूमिका महत्वपूर्ण : महामन्त्री कोइराला
फाइल तस्बिर
नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मंगलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला नेतृ मंगलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आइतबार साँझ आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालमा महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्रियामा उनले महिलालाई अहिलेको अवस्थामा पुर्याउन स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
महामन्त्री डा कोइरालाले महिलालाई पुरुषसरहको अधिकार स्थापित गराउन स्व मंगलादेवी सिंह, स्व दिव्या कोइराला, शैलजा आचार्य, सुशीला कोइरालालगायत महिलाको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
कांग्रेस केन्द्रीय सदस्य एवं फाउण्डेशन अध्यक्ष सुजाता कोइरालाले १६ वर्षको उमेरबाट महिला, हक अधिकारका लागि लड्ने साहसी महिला मंगलादेवी सिंह भएको बताइन् । ‘संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिए पनि महिलाको अधिकार किन स्थापित हुन सकेन, कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ,’ उनले भनिन् । महिलाले महिलालाई सहयोग गरेमात्र महिलाको आवाज बुलन्द हुने उनको भनाइ थियो ।
केन्द्रीय सदस्य कमला पन्तले १४ औँ महाधिवेशनमा उमेरका आधारमा भन्दापनि एजेण्डाका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताइन् । ‘नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सकेमात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौँ,’ उनले भनिन् । केन्द्रीय सदस्य सरिता प्रसाईँले महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताए । महिला अधिकार स्थापित गराउन नेपाल महिला संघ लड्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य डा डिला संग्रौलाले समानताको अधिकार खोज्ने कांग्रेसभित्र नेतृत्वको अधिकारमा पनि समानता हुनुपर्ने बताइन् । उनले शिक्षा, स्वास्थ्य र रोजगारमा समानता नखोजेसम्म महिलाले अधिकार नपाउने उल्लेख गरिन् ।
कांग्रेस केन्द्रीय सदस्य रत्ना शेरचनले महिला आन्दोलनका कारण संविधानले महिलालाई अधिकार दिएको उल्लेख गरिन् । महिलाले आवाज उठाउन नसकेको खण्डमा महिला अधिकार स्थापित नहुने उनको भनाइ थियो । केन्द्रीय सदस्य किरण यादवले कोरोनाका कारण गर्भवती, सुत्केरी बढी प्रभावित भएको भन्दै उक्त वर्गलाई लक्षित गरेर सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरिन् । तोकिएकै समयमा कांग्रेसको १४ औँ महाधिवेशन हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल महिला संघका अध्यक्ष एवं सांसद उमा रेग्मीले महिलालाई अधिकार सम्पन्न गराउने काम महिला संघको भएको बताउँदै पार्टी र सरकारसँग महिलाको हक अधिकारका लागि लड्नुपर्ने बेला आएको उल्लेख गरे ।
प्रदेशसभा सदस्य विजुला बर्मा, कास्की कांग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डे, फाउण्डेशन युरोपका संयोजक सीता सापकोटा, फाउण्डेशन साईप्रस संयोजक रिता दुलाल, कांग्रेस नेतृ सिर्जना सिंह, नेविसंघ पूर्व महामन्त्री प्रतिमा गौतमलगायतले महिलालाई नेतृत्वमा ल्याउन सबै महिला एकजुट हुनुपर्ने उल्लेख गरेका थिए । फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले मुलुकको समसाययिक विषयमा फाउण्डेशनले निरन्तर आवाज उठाउँदै आएको बताए ।
प्रकाशित समय ०९:१६ बजे
















