गृहपृष्ठ कोभिड कहरबीच नेकपा केन्द्रीय कमिटी बैठक तयारी !
कोभिड कहरबीच नेकपा केन्द्रीय कमिटी बैठक तयारी !
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेकपाले बैठक आयोजना गर्दा अहिले कोभिड –१९ बाट दैनिक दुई हजार मानिस काठमाडौं उपत्यकामा सङ्क्रमित छन् । यस्तो स्थितिमा केन्द्रीय कमिटी बैठक होला त ?
गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक विवादलाई समाधान गर्दै मन्त्रिमण्डल पुनर्गठन, केन्द्रीय कमिटी बैठक र एकताको महाधिवेशन गर्ने निर्णय पारित गरेको थियो । त्यही निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहेको नेकपा अहिले तेस्रो केन्द्रीय कमिटीको तयारीमा पनि जुट्नुपर्ने अवस्था छ ।
केन्द्रीय कमिटी बैठक हुन अब १२ दिन मात्र बाँकी छ र उक्त बैठक हुने, नहुने अझै निश्चित छैन । नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बैठकको तयारी गरिए पनि यही अवस्थामा बैठक गर्न गाह्रो हुने बताए ।
‘नेताहरु स्थायी कमिटीको बैठकको म्याण्डेटअनुसार अघि बढिरहनुभएको छ । त्यसैअनुसार केन्द्रीय कमिटी बैठकको मिति तोकिएको छ ‘, उनले भने,’तर अहिले उपत्यकासहित देशभरि नै संक्रमण बढिरहेकाले बैठक राख्न गाहो हुन्छ कि !”
उनले बैठक सर्ने वा सार्ने निर्णय नभएकाले आवश्यक तयारी आफूहरुले गरेको बताए । केन्द्रीय कमिटी सदस्य ४४७ जनासहित सुरक्षाफौज र बैठक व्यवस्थापन गर्न कम्तीमा तीन हजार जनशक्ति आवश्यक पर्न जान्छ ।
मुलुकभरि कोरोनाबाट एक लाख ३२ हजार २४६ र काठमाडौंमा मात्र ५५ हजार ३८७ जनामा संक्रमण देखिएको छ । यस्तो अवस्थामा स्वयंसेवकहरूसहित करिब साढे तीन हजारका जनशक्ति व्यवस्थापन गरेर कसरी नेकपाले केन्द्रीय कमिटीको बैठक आयोजना गर्छ भन्ने प्रश्न उठेको छ ।
‘बैठक सरेको छैन । शीर्ष नेताहरु भर्चुअल बैठक गर्ने कि भन्ने सोचमा हुनुहुन्छ’, कार्यालय सचिव रिजालले भने, ‘स्थिति हेरेर बैठक बस्ने, नबस्ने टुङ्गो लाग्छ ।’
बैठक बस्ने निश्चित नभएको र स्थलको पनि यकिन गरिएको छैन । अघिल्लो वर्ष नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक गत माघमामा राष्ट्रियसभागृहमा बसेको थियो ।
नेकपा स्थायी कमिटी सदस्य मणि थापाले बैठकबारे औपचारिक जानकारी अझै आइनसकेको बताए । उनले कोभिडका कारणले बैठक के हुन्छ भन्न नसकिने जनाउँदै बैठकको देखिने गरी तयारीसमेत नभएको प्रष्ट पारे ।
नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले भने सरेको जानकारी अझै आइनसकेकाले बैठक हुनेमा आफू विश्वस्त रहेको जनाए ।
प्रकाशित समय १९:२० बजे

















