गृहपृष्ठ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

फाइल तस्बिर ।

लामो चर्काचर्की र विवादपछि अन्तत: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीमा देखिएको विवादका विषयमा छलफल हुने बताइएको छ ।

अध्यक्ष ओलीले लामो समयदेखि बैठक बोलाउन अस्वीकार गरेपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । कार्यकारी अध्यक्ष प्रचण्डले आफूले कार्यकारी अधिकारको प्रयोग गरेर बैठक बोलाउने तयारी गरेपछि ओली बैठक बोलाउन सहमत भएका थिए ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा महासचिव विष्णु पौडेलले आजका लागि बैठक बोलाएका हुन् । पार्टीको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा हुने र अन्य विभिन्न विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिएका छन् ।

कर्णालीका मुख्यमन्त्रीविरुद्ध दार्ता भएको अविश्वासको प्रस्ताव, पर्सामा नेकपा गाउँपालिका सचिवको हत्या, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुखसँग गरेको भेटवार्ता, कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहललगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको श्रेष्ठले बताएका छन् ।

प्रकाशित समय १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु