गृहपृष्ठ दिनमा १० लाखभन्दा बढीको सुनचाँदी, हीरा किन्दा निगरानी

दिनमा १० लाखभन्दा बढीको सुनचाँदी, हीरा किन्दा निगरानी

बेनामी वा फर्जी नाममा किनबेचमा १ करोडसम्म जरिवाना

सुनचाँदी, हीरासहितका बहुमूल्य धातु किनबेचमार्फत सम्पत्ति शुद्धीकरण गर्ने तथा उच्च पदस्थ अधिकारीहरूले भ्रष्टाचार गरेको सम्पत्तिमा लगानी गरी भ्रष्टाचार लुकाउने प्रवृत्ति बढेपछि सरकारले यस्तो कारोबारमा निगरानी बढाएको छ ।

अबदेखि कुनै पनि ग्राहकले दिनमा एकै पटक वा पटक-पटक गरी १० लाख रूपैयाँभन्दा बढीको सुनचाँदी, हीरा, रुबीलगायतका बहुमूल्य धातु किन्दा बेच्नेले ग्राहककको पूरै पहिचान खोल्ने विवरणका कागजात राखेर अभिलेख राख्नु पर्ने व्यवस्था गरिएको छ ।

कुनै ग्राहकले एकै पटक वा पटक पटक गरी एक दिनमा १० लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार गरेमा त्यो कारोबार भएको १५ दिनभित्र वित्तीय जानकारी इकाईमा उपलब्ध गराउनु पर्ने आन्तरिक राजस्व विभागले जनाएको छ ।

दिनमा १० लाख रूपैयाँभन्दा कमको कारोबारमा भने व्यापारी आफैले कुनै अभिलेख वा विवरण राख्नसक्ने व्यवस्था गरिएको छ भने आन्तरिक राजस्व विभागले यसका अनुगमन गर्नेछ ।

विभागले जारी गरेको निर्देशिकाअनुसार अब कुनै पनि उच्चपदस्थ अधिकारीले सुनचाँदी, हीराजस्ता बहुमूल्य धातु किनेमा तिनका बारेमा पहिचान खुल्ने कागजात माग्नु पर्ने, आफूभन्दा माथिल्लो अधिकारीको स्वीकृति लिने र आवश्यक परे सम्पत्ति तथा कोषको स्रोत पहिचान गर्न पर्याप्त उपाय अवलम्बन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

‘बहुमुल्य धातु वा वस्तुको कारोबार गने व्यवसायीले उच्चपदस्थ व्यक्तिको पहिचान गरी विवरण नियिमत रुपमा अद्यावधिक गर्नुपर्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘उच्चपदस्थ वयक्तिको व्यावसायिक सम्बन्तध स्थापना गर्दा वा कारोबार गर्दा व्यवसायीले आफ्नो ग्राहक वा वास्तविक धनी अथवा ग्राहक बन्न खोज्ने व्यक्ति उच्चपदस्थ व्यक्ति भए वा नभएको यकिन गर्न जोखिम व्यवस्थापन प्रणालीको व्यवस्था गर्नुपर्नेछ ।’

यस्तो जोखिम व्यवस्था उच्चपदस्थ व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्तिका हकमा पनि लागू हुनेछ अर्थात् कुनै उच्चपदस्थ व्यक्ति आफै, परिवारका सदस्य वा तिनीहरूसँग नजिकका कसैले यस्ता बहुमूल्य धातु किन्ने, बेच्ने काम गरे सबैको विवरण व्यवसायीले राखेर शंकास्पद कारोबारबारे वित्तीय जानकारी इकाईमा सूचना उपलब्ध गराउनु पर्ने भएको छ ।

निर्देशिकाका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी उच्च जोखिमयुक्त देखिएका ग्राहक, आर्थिक वा कानुनी उद्देश्य स्पष्ट नदेखिने जटिल, ठूलो वा अस्वाभाविक प्रकृतिको ग्राहक, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना नगर्ने मुलुकका ग्राहक, उच्चपदस्थ व्यक्ति र तिनका परिवारको विवरण व्यवसायीले राख्नु पर्नेछ ।

यस्ता कुनै पनि ग्राहकको शंकास्पद कारोबार देखिएमा तत्काल वित्तीय जानकारी इकाईमा जानकारी उपलब्ध गराउनु पर्ने व्यवस्था निर्देशिकामा गरिएको छ भने यसरी संकलित सूचना र जानकारीहरूको गोपनियता कायम राख्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।

व्यवसायीले यो निर्देशिका कार्यान्वयमा आएपछि गरिएका कारोबारको प्रतिवेदन वार्षिक वा अर्धवार्षिक रूपमा आन्तरिक राजस्व विभागमा बुझाउनु पर्ने र विभागले आवश्यकताअनुसार अनुगमन गर्नसक्ने व्यवस्था गरिएको छ ।

निर्देशिकाअनुसार ग्राहक विवरण नराख्ने, तोकिएका निकायमा सूचना नबुझाउने बहुमूल्य धातुका बिक्रेतालाई १० लाखदेखि ५० लाख रूपैयाँसम्म जरिवाना हुने, अनुमतिपत्रसम्म खारेज हुने, बेनामी वा काल्पनिक नाम राखेर कारोबार गर्नेलाई १० लाखदेखि १ करोड रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

प्रकाशित समय १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु