गृहपृष्ठ नेकपा फुटेको छैन, प्रधानमन्त्रीले भ्रम छर्नुभएको मात्र हो : जनार्दन शर्मा

नेकपा फुटेको छैन, प्रधानमन्त्रीले भ्रम छर्नुभएको मात्र हो : जनार्दन शर्मा

संविधानलाई जीवित बनाउनका लागि आफूहरु प्रयासरत रहेको नेकपा स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश पार्टी कमिटी इञ्चार्ज जनार्दन शर्माले बताएका छन् । सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असफल बनाउन संविधानलाई जीवित बनाउनुपर्ने बताए ।

संवैधानिक प्रावधान विपरीतको निर्णय गरेकाले ओली सकिएको शर्माले तर्क गरे । ‘प्रधानमन्त्रीले चालेको कदम विनाशकारी र राष्ट्रघाती हो । अब ओली सकिएका हुन्,’ उनले भने । शर्माले संविधानमै नभएको अधिकार ओलीले प्रयोग गरेको आरोप लगाए । पार्टीको आफूलाई कुनै चिन्ता नभएको भन्दै शर्माले संविधान र देश बचाउनको लागि आफूहरु एकजुट भएको दाबी गरे ।

पार्टी पुनः एक हुने विषयमा बोल्दै शर्माले राष्ट्रघाती निर्णय गर्नेहरुको कुनै पनि ठाउँमा समर्थन नभए पनि पार्टी अझै एउटै भएको बताए । उनले भने, ‘नेकपा अझै फुटेको छैन । प्रधानमन्त्रीले जनतालाई भ्रममा पार्नुभएको मात्र हो ।’ कर्णाली प्रदेश सरकारको पुनर्गठनको लागि तत्काल काठमाडौंमा गई निर्णय गरिने उनले बताए । पहिले नै सरकार गठनमा त्रुटि भएकाले समावेशी सरकार बनाउन आफू लागिपरेको शर्माले सुनाए ।

प्रकाशित समय १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु