गृहपृष्ठ सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठ्यो : कांग्रेस
सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठ्यो : कांग्रेस
सडकमा मात्र होइन, सिंहदरबारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै कार्यालय अघिल्तिर प्रदर्शन गर्ने चेतावनी
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठाएको छ । नेपाली कांग्रेस सुर्खेत जिल्ला पार्टी कार्यालयमा प्रहरी प्रवेश गरी धरपकड गराएको भन्दै कांग्रेसले विज्ञप्ति जारी गरी विरोध जनाएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेठ ३१ गते सुर्खेतमा भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीरतापूर्वक ध्यानाकृष्ट भएको छ । निरन्तर भएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीले गरेको प्रदर्शनपश्चात नेपाली कांग्रेस सुर्खेतकै जिल्ला पार्टी कार्यालयमा समेत प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गर्नु सामान्य विषय होइन ।’
सडक पनि लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने अभिन्न अंग भएको भन्दै विज्ञप्तिमा पञ्चायतकालमा समेत नेपाली कांग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना नभएको बताएको । ‘तर, कम्युनिस्ट सरकारको पालामा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तै रवैया रहे विद्यार्थीले सडकमा मात्र होइन सिंहदरबारभित्रै प्रवेश गरेर प्रधानमन्त्रीकै कार्यालय अघिल्तिर प्रदर्शन गर्ने चेतावनी दिन चाहन्छु ।’
प्रकाशित समय १५:२० बजे
















