गृहपृष्ठ प्रदेश ५ को नीति तथा कार्यक्रम अपुग, स्थायी राजधानी छिटो तोक्न सांसदहरुको माग

प्रदेश ५ को नीति तथा कार्यक्रम अपुग, स्थायी राजधानी छिटो तोक्न सांसदहरुको माग


रेनुका गिरी । बुटवल । प्रदेश पाँचको नीति कार्यक्रममा थुप्रै कुराहरु अपुग भएको प्रदेश सभा सदस्यहरुले बताएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले नीति कार्यक्रममा समेट्नुपर्ने कुरा धेरै बाँकी रहेको भन्दै नीति कार्यक्रममा सबै पक्षको भावना नसमेटिएको बताए ।
प्रदेश सभामा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले पहिलो नीति कार्यक्रम आउँदा सरकारले आफूहरुसँग कुनै छलफल नगरेको आरोप लगाए । बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुनकुमार श्रेष्ठले प्रदेशको समृद्धिको लागि हातेमालो गरेर अघि बढ्ने मुख्यमन्त्रीले बताउने गरेपनि प्रतिपक्षीका भावनालाई नसमेटेर सरकारले नीति कार्यक्रम ल्याएको बताए ।
उनले आफूसँग सुझाव मागेको भए अझ कति कुरा समेट्न सकिने बताए । कांग्रेसका अर्का सांसद बैजनाथ कलावरले नीति कार्यक्रमको सन्दर्भमा आफूहरु सेरेमोनियल सदस्य मात्र भएर बस्नु परेको गुनासो गरे । बैठकमा सत्ता पक्षका सांसदहरुले नीति कार्यक्रम समग्रमा राम्रो भएपनि अरु केही विषय समेटेर अघि बढ्नुपर्ने बताए ।
एमाले सांसद विमला पन्थीले प्रदेशका विभिन्न ठाउँमा शैक्षिक, औद्योगिक लगायतका विशेषता छुट्याएर विकास गर्दै जानुपर्ने बताइन् । उनले कृषिको लागि ठाउँठाउँमा उत्पादनको पकेट क्षेत्र तोक्नुपर्ने बताइन् । अर्का सांसद तुल्सी चौधरीले अन्न बालीमा अनुदान लगायतको कार्यक्रम आउनुपर्ने बताइन् । ।
प्रदेश सभा बैठकमा सांसदहरुले आ–आफ्नो जिल्लामा रहेका धार्मीक पर्यटकीय क्षेत्रको विकास गुर्नपर्ने, सुकुम्बासी समस्या समाधान गर्ने, महिला हिंसा न्यूनीकरण, विपद व्यवस्थापन लगायतका ठोस कार्यक्रम समेटिनुपर्ने सुझाव दिएका थिए । झण्डै साढे ३ घण्टा चलेको आजको बैठकमा ३२ जना सांसदहरुले नीति कार्यक्रममाथि आफ्ना भनाई राखेका थिए ।
सांसदहरुले बोलिसकेपछि मुख्यमन्त्री शंकर पोखरेलले उठेका प्रश्नको जवाफ दिँदै नीति कार्यक्रममा नीति कार्यक्रममा सबै कुरा समेट्न नसकेका कुराहरुलाई पनि केन्द्र सरकार र स्थानीय तहसँग समन्वय गरी विकासका कार्यक्रम अघि बढाउने बताए । यसैबीच सोमबारको बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ ।
बैठकको सुरुमा प्रदेश पाँचका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरिएको थियो । यस्तै प्रदेश सांसदहरुले पाँच नम्बर प्रदेशको स्थायी केन्द्र छिटो छनोट गर्नुपर्ने बताएका छन् । प्रदेश सभामा सोमबार भएको छलफलमा उनीहरुले नीति कार्यक्रममा प्रदेशको स्थायी केन्द्र नसमेटिएको भन्दै आलोचना गरेका थिए ।
बैठकमा बोल्दै सांसद कृष्णध्वज खड्काले प्रदेशको केन्द्र गरी पूर्वाधारको सुभारम्भ गर्नुपर्ने धारणा राखे । अर्का सांसद अर्जुनकुमार श्रेष्ठले राजधानीको लागि नीति कार्यक्रमले पनि बोल्नुपर्ने बताउँदै छिट्टै त्यसको टुंगो लगाउनुपर्ने उल्लेख गरे । सांसद पार्वति पुनले भौगोलिक रुपले सबैलाई पायक पर्ने ठाउँमा स्थायी राजधानी तोक्नुपर्ने बताए ।
सांसदहरुको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले प्रदेशको स्थायी केन्द्र छिट्टै टुंगीयोस भन्ने पक्षमा रहेको बताए । उनले यो प्रदेश सभाको अधिकारको विषय भएकाले सकभर समझदारीमा र विवाद नआउने तरिकाले सुल्झनुपर्ने भन्दै पायक पर्ने ठाउँमा राजधानी हुनुपर्ने उल्लेख गरे । उनले प्रदेश केन्द्रको विषय टुंगिएमा प्रदेश सञ्चालन छिटो छरितो ढंगले सक्ने बताए ।

प्रकाशित समय १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु