गृहपृष्ठ पुनर्निर्माण प्राधिकरणमा सुशीलको सेकेन्ड इनिङ
पुनर्निर्माण प्राधिकरणमा सुशीलको सेकेन्ड इनिङ
साढे २ वर्षमा पुनर्निर्माण सक्ने दावी
फाइल तस्बिर
पहिलो पटक प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुँदा काम गर्न नसकेको भन्दै आलोचित सुशील ज्ञवालीलले पुर्ननिर्माणको काममा अब क्षमा नुहुने दावी गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा दोस्रो पटक नियुक्त भएपछि विहीबार पदभार सम्हाल्दै सिइओ ज्ञवालीले यस्तो बताएका हुन् ।
राजनीतिक स्थायित्व, संघीय प्रणाली लागु भएर अधिकार तल्लो तहमा पुगेको लगायतका विषय उल्लेख गर्दै सिइओ ज्ञवालीले अब प्राधिकरणलाई कुनै खालको ‘क्षमा’ नहुने धारणा राखे । विगतमा राजनीतिक अस्थिरतालगायतका कारण छिटोछिटो सिइओ परिवर्तन हुने अवस्था सिर्जना भएको ज्ञवालीको भनाइ छ । ‘हामीले शुन्यबाट काम सुरु गरेका हौं, प्रणाली स्थापित गरेका हौं,’ उनले भने, ‘अब त्यसलाई नयाँ ढंगबाट गति दिने गरी लाग्नुपर्छ ।’
ठोस कार्ययोजना तयार गरी समयावधी किटान गरी पुनर्निर्माणका काम अघि बढाउने उनको भनाई थियो । हालसम्म भएको पुनर्निर्माण प्रगति र आगामी दिनमा हासिल गर्ने उपलब्धी समेटेर नयाँ ढंगले अघि बढ्ने उनले बताए । पुनर्निर्माणका कामलाई गति दिन भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ ले तोकेको ५ वर्षमा पुनर्निर्माणको काम सक्ने लक्ष्यलाई पुनरावलोकन गरिने उनले सुनाए । उनले अवको साढे २ वर्षमा पुनर्निर्माण सक्ने दावी समेत गरे ।
मंगलबार मन्त्रीपरिषद् बैठकले गुपचुप निर्णय गर्दै ज्ञवालीलाई पुन नियुक्ति गरेको हो । बिहीबार प्राधिकरणका कर्मचारीले उनलाई कार्यालयमा स्वागत गरेका हुन् । सरकारले दोस्रो साता अघिल्लो सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै यसअघिका सिइओ युवराज भुसाल पदमुक्त भएका थिए । त्यसयता रिक्त रहेको प्राधिकरणको नेतृत्वमा ज्ञवालीलार्ई नियुक्त गरिएको हो ।
को हुन् सिईओ ज्ञवाली ?
प्रधिकरणको सिइओमा पूनवृत्ति भएका ज्ञवाली व्यक्तिका रुपमा तेस्रो नियुक्तिका रुपमा पाँचौं सिइओ हुन् । ज्ञवालीलाई २०७२ पुष १० मा केपी शर्मा ओली सरकारले सिइओ नियुक्त गरेको थियो । त्यसको एक वर्षपछि २७ पुसमा उनलाई तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले हटाएको थियो । त्यसअघि ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक थिए । कार्यकाल डेढ वर्ष बाँकी रहँदै उनलाई सरकारले प्राधिकरणको सिइओ बनाएको थियो ।
यो पनि पढ्नुस् :
भूकम्पपीडितमाथि राजनीति : प्राधिकरणमा तीन वर्षमा पाँच नेतृत्व
पुनर्निर्माण प्राधिकरणमा पुनः सुशील ज्ञवाली !
प्रकाशित समय १५:३५ बजे

















