गृहपृष्ठ कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण

कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण

parliament-newskarobar

 

प्रतिनिधि सभाको बिहीबारको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धिलगायत मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले मुलुकलाई विकास र समृद्धिको मार्गमा लगेमा प्रतिपक्षले पूर्णरुपमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाइरहेको बेला जनतालाई मार पर्ने गरी कर बढाएको भनी सरकारको आलोचना गरिन् । उनले भनिन्, ‘अहिले स्थानीयस्तरबाट जथाभावी कर लगाउनाले आम जनता मारमा परिरहेका छन्, यस विषयमा सरकारले विशेष ध्यान दिन आवश्यक छ ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद सूर्य पाठकले सरकारले उचित वैदेशिक नीति, संघीयता कार्यान्वयन र सुशासन स्थापनाका लागि सराहनीय काम गरिरहेको दावी गरे । चीन र भारतसँग पनि समानताका आधारमा वैदेशिक नीति स्थापित गराएको बताउँदै उनले भने, ‘सरकार गठनपछि नेपालले चीन र भारतबीच सन्तुलित सम्बन्ध राख्ने गरी बढाएको नीतिको चौतर्फीरुपमा स्वागत भएको छ, स्थानीय तहले लिएको करबारे प्रतिपक्षले अनावश्यकरुपमा हल्ला मच्चाउने मात्र काम गरेको छ ।’

सांसद दीपकप्रकाश भट्टले कञ्चनपुरमा भएको बलात्कारमा संलग्न दोषीलाई छानबिनका आधारमा दोषी ठहर्याउनुपर्नेमा आन्दोलनको भरमा दोषी खडा गर्ने प्रयास भइरहेकोतर्फ सदनको ध्यानाकर्षण गराए । सांसद मोहन आचार्यले रसुवाको विभिन्न स्थानमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउँदै पीडितलाई राहतका लागि व्यवस्था गर्न माग गरे ।

सांसद अमृता अग्रहरिले सरकारले मधेस र मधेसीप्रति विभेद गरेको जनाउँदै जनताबाट निर्वाचित भएका रेशम चौधरीलाई कुन ऐनका आधारमा प्रमाणपत्र नदिएको हो भनी प्रश्न गरिन् । सांसद सरिता गिरीले धनुषाको ढल्केवरदेखि सुनसरीको इटहरीसम्म विद्युत् प्रसारण लाइन विस्तार गर्दा लहान नगरपालिकास्थित कडरिया गाउँमा विवाद उत्पन्न हुँदा काम अगाडि बढ्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले विद्युत् पोल गाड्दा पहाडी भेगको छेउछाउबाट लैजानुपर्ने भन्ने व्यवस्था गर्न माग गरिन् ।

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु