गृहपृष्ठ राजपाले असोज ३ गते ‘ब्ल्याक आउट’ गर्ने, विश्लेषक भन्छन्- दोहोरो चरित्र
राजपाले असोज ३ गते ‘ब्ल्याक आउट’ गर्ने, विश्लेषक भन्छन्- दोहोरो चरित्र
'जनतामा भ्रम सिर्जना गर्न रचिएको नाटक'
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसको दिन असोज ३ गते मधेसमा ‘ब्ल्याक आउट’ गर्ने भएको छ । संविधान जारी भएको दिनको सन्दर्भमा सरकारले भव्यताका साथ संविधान दिवस बनाउने तयारी गरिरहँदा राजपाले भने ‘कालो दिवस’ मनाउन लागेको हो ।
राजपाले विरोध प्रदर्शन र विरोध सभा गर्नेसमेत घोषणा गरेको छ । दुई दिनसम्म चलेको राजपा अध्यक्ष मण्डलको बैठकले असोज ३ गते साँझ ७ बजेदेखि सवा ७ सम्म ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको हो । राजपा नेपालले विरोध कार्यक्रमका लागि जिल्ला-जिल्लामा सर्कुलर गरेको छ ।
विश्लेषक भन्छन्- जनतामा भ्रम सिर्जना गर्न रचिएको नाटक
प्रदेश २ सरकारमा सहभागी भएको राजपा नेपालले केन्द्र सरकारलाई समर्थन गरेको छ । लाभको पद लिन लालायित हुने राजपा संविधानबारे जनतामा भ्रम सिर्जना गर्न विरोधमा उत्रिनुलाई विश्लेषकहरुले दोहोरो चरित्रका रुपमा टिप्पणी गरेका छन् ।
आफू सुविधा र जनतालाई दुविधामा राख्न राजपाले यस्तो राजनीति गरेको विश्लेषक राजेश अहिराजको टिप्पणी छ । संविधानअनुसार केन्द्र सरकारलाई समर्थन गरेको र प्रदेश सरकारमा सहभागी राजपाले ‘कालो दिवस’ मनाउँछु भन्नु नैतिक र राजनीतिक दुवै हिसाबले गलत भएको अहिराजले बताए ।
‘राजपाका अध्यक्ष महन्थ ठाकुरले यही संविधान मान्छु भन्दै आफूमात्र सपथ खाएनन्, सबैलाई सपथ गराएका छन् । विभिन्न भाषामा यो संविधान पालना गर्छु भनेर कसम खाएका छन् । यही सविधानअनुसार उनीहरु लाभको पदमा छन्,’ अहिराजले न्युज कारोबारसँग भने, ‘लाभको पदमा बस्न संविधानले असर नगर्ने तर अहिले कालो दिनको रुपमा मनाउने, यो जनतालाई झुक्याउन रचिएको नाटक हो ।’
राजपाले संविधानविरुद्ध कालो दिन मनाउने भए लाभको पदबाट हटेर मनाएमा नैतिकता झल्कने अहिराजको टिप्पणी छ । ‘यहाँनेर मन्तव्य र गन्तव्य मिलेन । जनताको आँखामा छारो हाल्न भन्नचाहिँ संविधानको विरोध गरेका छौं भन्ने तर गन्तव्यचाहिँ लाभाको पद नछाड्ने देखिन्छ,’ उनले भने ।
प्रकाशित समय २०:२३ बजे