गृहपृष्ठ वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेल नियुक्त
वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेल नियुक्त
सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा मदन खरेललाई नियुक्त गरेको छ । गएराति बसेको मन्त्रीपरिषद बैठकले वायु सेवा निगमको सञ्चालक समितिको सदस्यमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले प्रहरी पाँचौँ संशोधन नियमावली एवं कर्णाली प्रदेश र गण्डकी प्रदेशका मुख्यमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ ।
त्यस्तै बैठकले नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । बैठकले नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा सर्त व्यवस्था गर्न बनेको विधेयक, २०७५ को तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
बैठकले अन्तर्रा्ष्ट्रिय आणविक ऊर्जा सङ्गठनको ६२औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । त्यस्तै रक्षा मन्त्रालय मातहत रहेको नेपाली सेनाको तालीमसम्बन्धी विभिन्न निर्णय गरेको मन्त्री अधिकारीले जानकारी दिए ।
बैठकले नारायणहिटी सङ्ग्रहालयसहित पुरातत्व विभाग मातहतका विभिन्न सङ्ग्रहालयको संरचना र दरबन्दी स्वीकृति गरेको छ । कर्मचारी प्रशिक्षण प्रतिष्ठानलाई खारेज गरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मिलान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित समय ०८:४५ बजे