गृहपृष्ठ प्रदेश १ को राजधानीलाई लिएर नेकपामा विवाद, मन्त्री नै मुख्यमन्त्रीविरुद्ध
प्रदेश १ को राजधानीलाई लिएर नेकपामा विवाद, मन्त्री नै मुख्यमन्त्रीविरुद्ध
प्रदेश नम्बर १ को स्थायी राजधानीको टुंगो लगाउन नेकपाका संसदीय दलको बैठक विराटनगरमा सुुरु भएको छ । प्रदेशको नाम र अस्थायी राजधानीको विषय पेचिलो बन्दै गएपछि अस्थायी राजधानीको बिषयमा निर्णय गर्न नेकपाको संसदीय दलको बैठक सुुरु भएको हो । सरकार गठन भएको सात महिनासम्म प्रदेशको नाम र स्थायी राजधानीको विषयलाई प्रदेश सरकारले टुंगो लगाउन नसक्दा सो विषय पछिल्लो समय पेचिलो बन्दै गएको हो ।
प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले आव्हान गरेको बैठक दुई दिनसम्म चल्नेछ । बैठकले नाम र स्थायी राजधानीको निर्णय गर्ने नेकपा संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । उनले संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानीबारे पनि छलफल हुने जानकारी दिँदै नामको बिषयमा तत्काल सहमति नजुटे नामलाई थाती राखेर राजधानी तोकिने बताए ।
प्रदेश संसदीय दलको बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन नेकपाले निर्देशन समेत दिएको थियो । प्रदेशको नाम र राजधानी बारेमा प्रदेशसभामा दुई तिहाइ बढी मत रहेको छ । तर नेकपाभित्रै मत विभाजनको अबस्था रहेकाले बिराटनगरलाई स्थायी राजधानी बनाउने बिषयमा बैठकले निर्णय गर्नेछ । संसदीय दलको बैठकले प्रदेशको राजधानी टुंगो लगाएर कम्तीमा प्रदेश सभाको यहि अधिवेशनबाट राजधानी तोक्ने तयारी गरिएको नेकपाले जनाएको छ ।
बैठकमा मुख्यमन्त्री शेरधन राई सहित मन्त्रीहरु जीवन घिमिरे, हिक्मत कार्की, इन्द्र आम्बो, जगदीश कुसीयतको सहभागीता रहेको छ । त्यसैगरी प्रदेश सदस्य एवं मुख्यमन्त्रीमा पराजित भएका भीम आर्चाय, लगायतका प्रदेश सदस्यहरुको पनि सहभागीता रहेको छ । मुख्यमन्त्री शेरधन राई पछिल्लो समय प्रदेश १ को राजधानी सार्ने पक्षमा उभिएका छन् ।
भीम आर्चायसँगको सम्बन्ध सुधारका लागि मुख्यमन्त्री राईले राजधानी सार्ने योजना अघि सारिएको श्रोतले जनाएको छ । मुख्यमन्त्री राईको यो योजनाप्रति असहमति जनाउदै नेकपा जिल्ला मोरङ पार्टी कमिटि र प्रदेश सदस्यहरु भने त्यो योजनाको विपक्षमा उभिएका छन । त्यसैगरी मुख्यमन्त्री शेरधन राईको योजनाको विपक्षमा मन्त्री मण्डलका सदस्य समेत विपक्षमा छन् ।
अस्थायी राजधानी रहेको बिराटनगरलाई नै स्थायी बनाउनु पर्नेमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङम्बो, आन्तिरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक बिकास मन्त्री जीवन घिमिरे पक्षमा उभिएका छन् । प्रदेश नं १ मा नेकपाको स्प्रष्ट बहुमत रहेको छ । प्रदेश एकमा ९३ सांसदमध्ये नेकपाका ६७, कांगे्रसका २१, संघिय समाजबादी फोरम ३ र संघिय लिम्बुवान परिषद् र राप्रपाका एक÷एक सांसद छन् ।
दुई तिहाइका लागि ६२ सांसद चाहिन्छ । आन्तरिक सहमति नजुटेकै कारण प्रदेशसभा गठन भएको ७ महिना बितिसक्दा पनि राजधानी र नामबारे सरकार र सरकारको नेतृत्वकर्ता दल नेकपाले औपचारिक छलफल थालेको थिएन । दुईतिहाइ बहुमत रहेको कारण नेकपाको संसदीय दलले निर्णय गरेपछि स्वत ः सो विषय संसदबाट पारित हुने अवस्था छ ।
२०७२ साल असोज ३ गते जारी भएको संविधानले नेपाललाई ७ प्रदेशको व्यवस्था गरेको छ । संविधानको अनुसुचि ४ बमोजिम विभाजन भएकामध्ये पाँचवटा प्रदेश अझैपनि अंक कै भरमा चिनिन्छन् । ती हुन् १ नम्बर, २ नम्बर, ३ नम्बर, ५ नम्बर र ७ नम्बर प्रदेश । संविधानको धारा २९५ को २ मा प्रदेशको नामांकरण सम्बन्धित प्रदेशको संसदको दुईतिहाइ बहुमतले गर्ने प्रावधान छ । त्यस्तै धारा २८८ को २ मा सरकारले तोकेको अस्थायी केन्द्र (हालका मुकाम) लाई प्रदेशसभाको दुई तिहाइ बहुमतले परिवर्तन गर्न सक्ने व्यवस्था छ ।
प्रकाशित समय १७:५० बजे

















