गृहपृष्ठ पार्टी एकता लम्बिए नारायणकाजी एमाले प्रवेशको तयारीमा

पार्टी एकता लम्बिए नारायणकाजी एमाले प्रवेशको तयारीमा

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता लम्बिए माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार वरिष्ठ नेता श्रेष्ठ, नेता टोपबहादुर रायमाझी लगायतले अध्यक्ष प्रचण्डलाई एकता प्रक्रिया छिटो टुङ्गोमा पु¥याउन दबाब दिएका छन् ।
एकता विलम्ब भए आफूहरु एमालेमा प्रवेश गर्ने उनीहरुले चेतावनी पनि दिएका छन् । उसो त नेता श्रेष्ठलाई माओवादीभित्रका एमाले भनेर आरोप लाग्दै आएको छ । उनी यसअघि पनि एमालेमा प्रवेश गर्ने चर्चा चलेको थियो । दुई पार्टीका एकता हुनुपर्नेमा उनले लामो समयदेखि लविङ गरिरहेका छन् । एमाले–माओवादीको अहिलेको निकटता बढाउन श्रेष्ठको महत्वपूर्ण भूमिका छ ।
पछिल्लो समय नेता श्रेष्ठ लगायतका माओवादी नेताहरुको प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकटता बढेको छ । अघिल्लो आइतबार प्रचण्डसँगको भेट स्थगित भएपछि ओलीले श्रेष्ठलाई बालुवाटार बोलाएका थिए । उनीहरुबीच लामै कुराकानी भएको थियो ।
श्रेष्ठसँगै त्यस्तै यतिवेला प्रचण्डसँग भन्दा ओलीसँग बढि नजिकिने माओवादी केन्द्रका नेताहरुमा टोपबादुर रायमाझी, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बहादुर बस्नेत लगायत रहेको स्रोतको दाबी छ । प्रचण्डको पक्षमा वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री वर्षमान पुन र नेता हरिबोल गजुरेल छन् ।
पछिल्लो समय प्रचण्डकै अडानका कारण एमाले–माओवादीको एकता लम्बिएको चर्चा शुरु भएको छ । प्रचण्डले अन्य नेताहरुभन्दा पनि आफ्नो पद सुनिश्चितताको माग गर्दै एकतामा आलटाल गरेको माओवादीभित्रका केही वरिष्ठ नेताहरुको बुझाई छ । प्रचण्डले ५०–५० प्रतिशत नभए एकता नहुने भनेर वातावरण बिगारेको उनीहरुको आरोप छ । उनीहरुले ठयाक्कै प्रतिशत तोकेर भन्दापनि समानताका आधारमा एकताको कुरा गर्न अनुरोध गरेका छन् ।
समानताका आधारमा एकता भए स्वभाविक रुपमाले एकीकृत पार्टीमा एमाले पृष्ठभूमिका नेताहरुको बढि उपस्थिति रहनेछ । प्रचण्ड निकट स्रोतका अनुसार उनले फिप्टी–फिप्टी भन्नुका पछाडी पनि कारण छ । पचास प्रतिशतको कुरा गरे कम्तिमा ४० प्रतिशत पाइने प्रचण्डको बुझाई छ । निर्वाचनअघि ६०–४० को भागबण्डा गरेका एमाले–माओवादीको नजिता झण्डै ७०–३० को हाराहारीमा आएको थियो ।
एमालेका केही नेताहरुले त्यसैलाई आधार मानेर एकता गर्नुपर्ने बताएपछि प्रचण्ड झस्किएका हुन् । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आइतबार काठमाडौँमा भएको कार्यक्रममा ओली र प्रचण्डले एकताबाट भाग्ने बाटो नभएको बताएका थिए । उनीहरुले छिट्टै एकता गर्नेपनि प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित समय १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु