गृहपृष्ठ प्रदेश १ को चालु अधिवेशन मंगलबारबाट अन्त्य हुँदै

प्रदेश १ को चालु अधिवेशन मंगलबारबाट अन्त्य हुँदै

प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो नलगाइ प्रदेश १ को चालु अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ । मंगलबार  प्रदेश सभाको बैठक बसेर अन्त्यको तयारीमा सरकार जुटेको हो । प्रदेश सरकारले सर्वदलीय बैठक आह्वान गरेर प्रदेश सभा अन्त्य गर्ने निर्णय गरेको हो ।

सरकारले प्रदेशको नाम र राजधानी यही अधिवेशनबाट टुंगो लगाउने भनेपनि हाललाई थाँती राखेर अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारले निर्णय गरेको हो । नेकपाका संसदीय दलका उपनेता टंक आङबोहाङले मंगलबार प्रदेश सरकारको बैठक बसेर प्रदेश सभाको जारी अबिधेशन अन्त्य गर्ने निर्णय भएको जानकारी दिए ।

उनले नेपालीको महान चाड बडादसैं र तिहार नजिकएकाले प्रदेशसभाको चालु अधिवेशन अन्त्यको निर्णय गरिएको बताए । उनले प्रदेशको नाम र राजधानीको बिषयमा गहन छलफल गर्ने र सहमतिबाट टुंगो लगाउने तयारी भएकाले अझै छलफल गर्नुपर्ने आवश्यक रहेकाले हाललाई प्रदेशसभा अन्त्य गर्ने निर्णय गरिएको बताए ।

यसअघि सरकारले यही अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने बताउँदै आएको थियो । तर प्रदेश सरकारको नाम र राजधानीको विषयमा सरकारले औपचारिक रुपमा प्रदेश सभामा लैजान सकेको छैन ।

नाम र राजधानीको टुंगो लगाउन नेकपा संसदीय दलको बैठक बसेको भएपनि बैठकले कुनै निर्णय नलिई स्थागित भएको थियो । मुख्यमन्त्रीले दलको अर्को बैठक डाक्न सकेका छैेनन् ।
जसका कारण नाम र राजधानीको विषय अनिर्णय बनेको छ ।

प्रदेशको राजधानीको चर्चा चुुलिएपछि केही दिन यता अस्थायी राजधानी रहेको बिराटनगर, इटहरी, धरान लगायतका क्षेत्रबाट आफ्नै स्थानमा स्थायी राजधानी राखिनु पर्ने आवाज समेत उठ्न थालेको छ ।

औपचारिक रुपमा विषय प्रवेश नभएपनि १ नम्बर प्रदेशसभामा प्रदेशको नाम र राजधानीको विषयले हरेक दिन स्थान पाउन थालेको छ । संसदमा अन्य जनसरोकारका विषय उठ्न छाडेर नाम र राजधानीकै विषय उठिरहे पनि त्यसबारे निर्णय गर्न बसेको नेकपा संसदीय दलको बैठक स्थगित भएपछि पुनः बस्न सकेको छैन । जसले गर्दा यो विषयमा थप अन्यौल बढेको छ ।

प्रकाशित समय १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु