गृहपृष्ठ सरकारले ‘समृद्धि’ शब्दको दुरूपयोग गर्यो : नयाँ शक्ति
सरकारले ‘समृद्धि’ शब्दको दुरूपयोग गर्यो : नयाँ शक्ति
नयाँ शक्ति पार्टी नेपालले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समृद्धि शब्दको दुरूपयोग गरेको आरोप लगाएको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले आफ्नो राजनीतिक प्रतिवेदनमा यस्तो आरोप लगाएको हो । राजधानीमा बुधवारबाट शुरू महाधिवेशन आयोजक समितिको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा नयाँ शक्तिले आफ्नो नारा सरकारले फोटोकपी गरेर बेचेको आरोप लगाएको छ ।
आफ्नो पार्टीको स्थापनादेखिको नारा फोटोकपी गरेर नेकपाले चोरेको भन्दै प्रतिवेदनमा समृद्धि शब्दकै बदनाम गरिएको आरोप लगाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टीको स्थापनाकालीन नाराको मुद्दा फोटोकपी गरेर कम्युनिष्ट नामधारी सत्तारुढ दल नेकपाले ‘समृद्धि’ शब्दकै दुरुपयोग गरिरहेको छ ।’ समृद्धिका नाममा नेकपाले जनतालाई ठगिरहेको नयाँ शक्तिको ठहर छ ।
नेकपाले स्पष्ट भिजन र कार्ययोजना बिना पुरानै पञ्चायती र राजतन्त्रात्मक संसदवादी व्यवस्थामा मुलुक हिडाएको नयाँ शक्तिले आरोप लगाएको छ । ‘सत्ताधारी नेकपाले कुनै स्पष्ट भिजन र कार्ययोजना बिना पुरानै पञ्चायती र राजतन्त्रात्मक संसदवादी शासकहरुकै शैलीमा सर्प झैं घस्रने क्रमिक विकास र खुद्रा वितरणमुखी नीतिलाई ‘समृद्धि’ भनेर जनतालाई ठगिरहेको छ ’ नयाँ शक्तिको प्रतिवेदनमा लेखिएको छ ।
नयाँ शक्तिले कांग्रेस र कम्युनिष्ट दुवै पतनशील भएको टिप्पणी गरेको छ । प्रतिवेदनमा काँग्रेस र कम्युनिष्ट ब्राण्डका पार्टी पुरानो युगका विचार र राजनीतिको पक्षपोषण गर्ने पार्टी भएको उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘दुई ध्रुवको रुपमा रहँदै आएका ती पतनशील शक्तिहरुको विकल्पमा अग्रगामी नयाँ–तेस्रो ध्रुव निर्माण गर्ने हाम्रो प्रमुख लक्ष्य हो ।’ नयाँ शक्तिको बैठक बिहीवारसम्म चल्नेछ ।
प्रकाशित समय १६:०० बजे
















