गृहपृष्ठ देउवाले विपक्षी दलको नेताको भूमिका खेल्न सकेनन् : पौडेल
देउवाले विपक्षी दलको नेताको भूमिका खेल्न सकेनन् : पौडेल
‘सुजाताले खाना खान बोलाएपछि गएको हुँ’
फाइल तस्बिर
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदमा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले जुन किसिमको विचार संसदमा दिनुपथ्र्यो त्यो दिन नसकेको टिप्पणी गरे । ‘विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो,’ पौडेलले भने, ‘तर त्यस्तो भएन ।’
आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको पौडेलको दावी थियो । ‘पार्टी निर्वाचनमा के कारणले हा¥यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्नेतिर मेरो चिन्ता छ,’ उनले भने, ‘पदमा को बस्ने भन्ने चिन्ता छैन ।’
फरक प्रसँगमा नेता पौडेलले सोमबार सुजाता निवासमा खाना खान बोलाएर गएको बताए । राजनीतिक विषयमा चर्चा मात्रै भएको बताउँदै उनले सामान्य ‘हाई हेल्लो’ मात्रै भएको दावी गरे । आफूहरुले पार्टीमा कुनै गुटबन्दी नगरेको पनि उनले दावी गरे ।
वरिष्ठ नेता पौडेलले उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभए पनि प्रक्रिया पुर्याएर ल्याउन नसक्नु देउवाको कमजोरी भएको बताए ।
‘गच्छदारलाई ल्याउने कुरामा पहिलादेखि नै सहमति थियो तर प्रक्रिया मिलाएर गरौं भन्ने हो,’ पौडेलले भने । अर्को एक प्रसङ्गमा उनले केन्द्रीय समितिमा सदस्य बढाउनुपर्ने भन्दै सदस्य बढेमा पदाधिकारी स्वतः बढ्ने उल्लेख गरे ।
सरकारप्रति टिप्पणी गर्दै पौडेलले अहिलेको सरकार समय अनुकूल रहेर पनि हल न चलको अवस्थामा पुगेको आरोप लगाए । ‘विपक्षी शान्त भलादमी तरिकाले बसेको छ, जनता निरास छन्,’ पौडेलले भने ।
रासस
प्रकाशित समय १५:०७ बजे

















