गृहपृष्ठ नेकपा सचिवालय बैठक अझै अनिर्णीत
नेकपा सचिवालय बैठक अझै अनिर्णीत
सांगठनिक एकीकरणसम्बन्धी प्रस्तावमा छलफल
फाइल तस्बिर
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा पार्टीको सांगठनिक एकीकरणसम्बन्धी कार्यदलको प्रस्तावमा छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकीकरणसम्बन्धी प्रस्तावमाथि छलफल गरेको हो । प्रतिवेदन महासचिव विष्णुप्रसाद पौडेल र नेता रामबहादुर थापा ‘बादल’को कार्यदलले बिहीबार पेस गरेको थियो ।
छलफलमा उठेका विषयवस्तुलाई आवश्यक पुनर्विचार गरी निर्णय लिन स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । शनिबार पुनः सचिवालयको बैठक बस्ने र त्यसमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनको एजेन्डा प्रवेश हुने प्रवक्ता श्रेष्ठले बताए । ‘सदस्यहरुको कार्य विभाजन र स्थायी समितिको मिति तोक्ने विषयमा भोलिको बैठकमा छलफल हुन्छ,’ श्रेष्ठले न्युज कारोबारसँग भने, ‘चालू सचिवालय बैठकले सांगठनिक एकीकरणको काम टुंगो लगाउनेछ, सरकार, पार्टी र संसदको कामको पनि समीक्षा गर्नेछ ।’
बैठकले काठमाडौंमा छुट्टै पार्टीको विशेष जिल्ला कमिटी गठन गर्ने निर्णय पनि गरेको छ । विशेष प्रदेश कमिटी गठन गरी त्यसको मातहतमा रहने गरी काठमाडौंमा विशेष जिल्ला कमिटी गठन गर्ने निर्णय गरेको हो ।
प्रकाशित समय १९:५० बजे

















