गृहपृष्ठ हजारौं कार्यकर्तामाझ प्रकाण्डले भने– प्रचण्ड गद्धार हुन्
हजारौं कार्यकर्तामाझ प्रकाण्डले भने– प्रचण्ड गद्धार हुन्
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले वर्तमान सरकारका कारण मुलुक संकटमा फसेको आरोप लगाएका छन् । पार्टी स्थापनाको पाँच वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा नेता प्रकाण्डले सरकारविरुद्ध लाग्न कार्यकर्तालाई आह्वान गरे । ‘राष्ट्रियता संकटमा छ । देश नै रहन्छ कि रहँदैन चिन्ता छ । हिमाल, तराई र पहाडलाई अलग बनाउने खेल भइरहेको छ । राष्ट्रघाती कदम नसच्याउने हो भने नेपाली जनता स्वाधीनताका लागि राष्ट्रिय सेनामा बदलिनेछन्,’ उनले भने ।
नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रकाण्डले ‘गद्धार’को संज्ञा दिए । ‘प्रचण्ड, बादल गद्धार हुन्, उनीहरुकै कारण जनताले धोका पाएका छन्,’ उनले भने । नेताहरुले धोका नदिएको भए नेपाली जनताको आफ्नै सत्ता हुने उनको जिकिर थियो ।
वर्तमान सरकारलाई राष्ट्रघातीको संज्ञा दिँदै प्रकाण्डले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि राष्ट्रघाती प्रोजेक्ट अघि बढाउन थालिएको बताए । उपल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय पक्षको संलग्नता संकेत गर्दै उनले त्यसलाई आफूहरुले रोकेको दाबी गरे । तर, अहिलेको सरकारले त्यसपछि अरु ‘राष्ट्रघाती प्रोजेक्ट’ अघि बढाउँदै गरेको उनले बताए । नेकपा माओवादी केन्द्रलाई नेकपा एमालेसँग पार्टी एकता गरेर विजयनिकट पुगेको सर्वहारा वर्गको क्रान्तिमाथि प्रचण्डले षड्यन्त्र गरेको उनको आरोप छ ।
शान्तिवाटिकामा गर्ने भनिएको कार्यक्रम नेकपाले शनिबार भृकुटीमण्डपमा गरेको छ । पाँचौं पुनर्गठन दिवसको अवसर पारेर नेकपाले राजधानीमा ‘शक्ति प्रदर्शन’ समेत गरेको छ । नेकपाले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गलाई दुईतर्फी बन्द गरी ‘विशाल जनसभा’ गरेको हो । सभामा उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतले सम्बोधन गरे । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भने सहभागी भएनन् ।

सभा व्यवस्थापनका लागि हँसिया हथौडा अंकित रातो पोसाकमा कार्यकर्ता खटिएका थिए । सभाका लागि तीन स्थानबाट जुलुस निस्किएको थियो । जुलुसका कारण शनिबार दिउँसो कतिपय ठाउँमा यातायात सञ्चालनमा समेत अवरोध हुँदा यात्रुले सास्ती पाए । सभाका लागि देशका विभिन्न स्थानबाट करिब एक लाख जनता तथा कार्यकर्ता काठमाडौं आएको नेकपाको दाबी छ । सहभागीले भने सभास्थलमा ५० हजारजतिको उपस्थिति रहेको अनुमान गरेका छन् ।
प्रकाशित समय १७:४९ बजे

















