गृहपृष्ठ अन्तरप्रदेश परिषद् बैठक : मुख्यमन्त्रीले पोखे असन्तुष्टि

अन्तरप्रदेश परिषद् बैठक : मुख्यमन्त्रीले पोखे असन्तुष्टि

mukhya-mantri-bhela

मुख्यमन्त्रीहरूले ऐन, कानुन नबन्दा प्रदेश सरकार अनिर्णयको बन्दी बनेको गुनासो गरेका छन् । सिंहदरबारमा आइतबार बसेको अन्तरप्रदेश परिषद्को बैठकमा उनीहरुले ‘ऐन कानुन किन बन्न सकेन ?’ भन्दै प्रधानमन्त्रीसँग आक्रोस पोखे ।

बैठकमा ४ वटा प्रदेशका मुख्यमन्त्रीले बोलेका थिए । उनीहरु सबैले ऐन, कानुन नबन्दा प्रदेश सरकार अनिर्णयको बन्दी बनेको गुनासो पोखेका थिए । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अन्तरप्रदेश समन्वय परिषद् बैठकले प्रदेशको समस्या समाधान गर्ने विश्वास रहेको धारणा राखेका थिए ।

‘परिषदको यो पहिलो औपचारिक बैठक हो, यसले हाम्रो समस्यालाई समधान गर्छ, हामीलाई समस्या कहाँ राख्ने भन्ने अन्योल थियो । बैठकमा प्रधानमन्त्रीले हाम्रो कुरा सुन्नुभएको छ ।  निकास दिन्छ भन्नेमा विश्वस्त छौं,’ उनको धारणा थियो ।

जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो संरचना भत्काउन समय लग्ने बताए । ‘प्रदेश सरकारले उठाएका विषय तत्काल सम्बोधन हुनेछन्,  सबै कुरा चाहँदा चाहँदै पनि गर्न सकिँन, तत्काल कानुन निर्माण नगरी प्रदेश सरकारलाई बलियो बनाउने पक्षमा केन्द्र सरकार छ,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक मुख्यमन्त्रीले न्यूज कारोबारलाई बताए ।

प्रधानमन्त्री ओलीले संघीयता राम्रोसँग कार्यान्वयन हुने प्रष्ट पारेका थिए । बैठकमा संघीय सरकार र प्रदेश सरकारबीचको दायरा, अधिकार, कर्मचारीको व्यवस्थापन, वित्तीय आयोग, प्रशासन ऐन लगायतका विषयमा बहस भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जाकारी दिए । बैठक सोमबार पनि बस्ने छ ।

केन्द्र र प्रदेश दुवै तहको सरकारबीच समन्वयका लागि प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश समन्वय परिषद्को व्यवस्था गरिएको छ । तर, केन्द्र सरकार र प्रदेशबीच असमझदारी बढ्नुका साथै एक अर्काबीच आरोप प्रत्यारोप चलिरहँदा पनि बल्ल तल्ल पहिलो पटक परिषद्को बैठक सुर भएको हो । संघ र प्रदेशबीच आइपर्ने समस्या समाधानका लागि संविधानमा अन्तरप्रदेश समन्वय परिषद्को व्यवस्था छ ।

केन्द्र र प्रदेशबीच विभिन्न समस्या भए पनि मुख्यमन्त्रीहरुले भदौ २१ गते पोखरामा भेला गरेपछि असन्तुष्ट बनेका प्रधानमन्त्रीले समन्वय परिषद्को बैठक बोलाएका थिएनन् । प्रदेश सरकारले काम गर्न नसकेको चौतर्फी आलोचनापछि मुख्यमन्त्रीहरुले पोखरामा भेला गरेका थिए । पोखरा भेलाले तय गरेका मुख्य एजेण्डासहित मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् ।

प्रकाशित समय १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु