गृहपृष्ठ भ्रष्टाचारविरुद्ध साठी प्रतिशत उजुरी वेनामी
भ्रष्टाचारविरुद्ध साठी प्रतिशत उजुरी वेनामी
प्रदेश-५ को राजधानीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालय मातहत ७८० उजुरी मध्ये २७६ उजुरी फर्छ्योट भएको छ । कार्यालयले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म दर्ता भएका उजुरी मध्ये ५०४ वटा अनुसन्धानमा रहेको कार्यालय प्रमुख सहसचिव रविलाल पन्तले जानकारी दिए ।
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा आइतबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख पन्तले ६० प्रतिशत उजुरी बेनामे आउने गरेको बताए । कार्यालयमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम पूर्वी रुकुमका भएको उनले जानकारी दिए ।
कार्यलयमा दर्ता भएको उजुरीको तथ्यांक अनुसार सबैभन्दा बढी रुपन्देहीका २५७ वटा छन् भने सबैभन्दा कम पूर्वी रुकुमका जम्मा ५ वटा छन् । प्रदेश-५ का ९ जिल्ला र प्रदेश ४ को नवलपरासी पूर्व गरी १० जिल्ला कार्यक्षेत्र रहेको आयोगको बुटवल कार्यालयमा कपिलबस्तुका १५८, नवलपरासी पश्चिमका ११३, अर्घाखाँचीका ७१, गुल्मीका ५०, पाल्पाका ४८, नवलपरासी पूर्वका ४१, रोल्पाका २६ र प्युठानका ११ वटा उजुरी दर्ता छन् ।
भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय प्रधानमन्त्री कार्यालय मातहत हुँदा नेपाली सेना, अदालत, मन्त्रिपरिषदका निर्णय र संसदीय समितिका निर्णय हेर्न नपाउँदा काममा समस्या भएकाले स्वायत्तता प्रदान गर्नुपर्ने, भौतिक पूर्वाधार तथा स्रोत साधनको अपर्याप्तता, बिशिष्टिकृत कर्मचारीको अभाव हुँदा काम गर्न समस्या भएको उनले बताए ।
त्यस्ता भ्रष्टाचार नियन्त्रणका लागि स्थानीय तहले सदाचार र निष्ठामा रही काम गर्नुपर्ने, भ्रष्टाचारविरुद्धको शुन्य सहनशीलता कायम गर्नुपर्ने, स्थानीय तहले गर्ने काम, प्रदान गरिने सेवा र बिकास कार्यहरुमा पारदर्शिता अभिबृद्धि गर्न सामाजिक परीक्षण, सार्वजनिक लेखा परीक्षण, गुणस्तर परीक्षण, व्यवस्थापन परीक्षण र सार्वजनिक सुनुवाई लगायतका काम हुनु पर्ने उनले औल्याए ।
कार्यालयका उपसचिव नारायण पाण्डेले नेपालमा आर्थिक वर्ष २०७३/०७४ मा ५ खर्व वेरुजु रहेको बताउँदै बजेटको ५० प्रतिशत वेरुजु हुनुले सुशासनको अवस्था प्रष्ट पारेको बताए । उनले विश्वमा वार्षिक १० खर्व घुस र २५ खर्व भ्रष्टाचार हुने गरेको बताउँदै भ्रष्टाचार र घुसखोरी संस्थागत हुँदै गएको र यसलाई समाजबाट वहिस्कारको रणनीति अवलम्बन नगर्ने हो भने स्थिती अझै भयावह हुँदैजाने उल्लेख गरे ।
प्रकाशित समय १८:४० बजे
















