गृहपृष्ठ स्थायी समितिको निर्णय कुर्दै नेकपाका भ्रातृ संगठन

स्थायी समितिको निर्णय कुर्दै नेकपाका भ्रातृ संगठन

दुई भ्रातृ संगठनको यसरी गरियो नेतृत्व बाँडफाँड

nekapa-newskarobar

नेपाल कम्युनिष्ट पार्टी नेकपामा दुई भ्रातृ संगठनको नेतृत्व बाँडफाँड भएको छ । तत्कालीन एमाले निकट युवासंघ, विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग र अखिल क्रान्तिकारीबीचको एकतापछिको नेतृत्वको बारेमा शीर्ष नेताहरुबीच सहमति भएको हो ।

युवा संगठनको नेतृत्व तत्कालीन एमालेको भ्रातृसंगठन युवा संघलाई र विद्यार्थी संगठनको नेतृत्व अखिल क्रान्तिकारीलाई दिने सहमति भएको नेताहरुले बताएका छन् । ‘स्थायी समिति बैठकमा पनि यी विषयमा सामान्य छलफल भएको छ, युवासंघको नेतृत्व युवासंघ र विद्यार्थी संगठनको नेतृत्व अखिल क्रान्तिकारीलाई दिने गरी तत्काल एकता गर्ने विषयमा कुरा भएको छ,’ एक स्थायी समिति सदस्यले न्युज कारोबारसँग भने ।

पार्टीको शीर्ष तहमा भएको यस्तो सहमति अनुसार छिट्टै एकताको तयारी भईहरहेको नेताहरुले बताएका छन् । एकतापछि हुने संगठनको नाम र केन्द्रीय समितिमा रहने सदस्यको टुंगो लाग्न भने बाँकी रहेको युवा संघका महासचिव नरेश शाहीले जानकारी दिए ।

तत्कालीन माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग वाईसिएल र तत्कालीन एमालेको संगठन युवासंघको एकताको लागि विधानसमेत तयार गरिएको छ । १६ देखि २४ वर्षसम्मका युवालाई विशेष आरक्षण दिनुपर्ने, राष्ट्र निर्माणमा युवाशक्तिलाई परिचालन गर्नुपर्ने, समाजवाद र राष्ट्रिय पुँजी निर्माणका लागि युवा वर्गले भूमिका निर्वाह गर्नुपर्नेलगायत विषय विधानमा समेटिएको छ ।

दुवै संगठनलाई व्यवस्थित तरिकाले एकताबद्ध गर्न युवा संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डे र अध्यक्ष रमेश पौडेल तथा कम्युनिस्ट लिगका इञ्चार्ज मणि थापा र रामप्रसाद सापकोटा रहेको कार्यदल निर्माण गरिएको थियो । संगठन बनाउन तत्काल एकता हुनुपर्ने कार्यदलका सदस्यहरुले बताउँदै आएका छन् । ‘युवालाई अवसर प्रदान गर्ने युवामैत्री विधान हामीले तयार गरेका छौं, युवाशक्ति संगठित भई सामाजिक सेवाका साथै व्यावसायिक तथा उद्यमशीलतर्फ उन्मुख गराउन तत्काल एकता गर्नुपर्छ,’  कार्यदल सदस्य थापा भन्छन् ।

यस्तै विद्यार्थी संगठनहरू अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को एकता अन्तिम चरणमा पुगेको छ । स्थायी समिति बैठकबाट औपचारिक निर्णय आएपछि एकता गरिहाल्ने अनेरास्ववियुकी उपाध्यक्ष एवं विधान मस्यौदा उपसमिति सदस्य सुनिता बरालले बताइन् ।

नेतृत्व र नामका विषयमा अझै छलफल भइरहेको छ । केन्द्रीय समिति भने १ सय ९९ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।  नामका बारेमा भने सहमति हुन बाँकी रहेको जनाईएको छ ।

प्रकाशित समय १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु