गृहपृष्ठ समृद्धिबाटै समाजवादमा : अध्यक्ष प्रचण्ड
समृद्धिबाटै समाजवादमा : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा जान लागेको बताएका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको समूह नेकपाबाट विद्रोह गरी आउने नेता तथा कार्यकर्तालाई सोमबार आफ्नै निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आर्थिक समृद्धिको आधार तयार पार्न वर्तमान सरकार र पार्टी लागिपरेको बताए ।
अध्यक्षले दाहालले भने, ‘हामी नयाँ बाटोमा भए पनि हामीले हाम्रा आदर्श र उद्देश्य छोडेको भने होइन, उद्देश्यप्राप्तिका निम्ति हामीले कहिले उकालो चढ्नुपर्ने हुन्छ भने कहिले ओरालो झर्नुपर्ने हुन्छ र त्यसरी मात्रै शिखरमा पुगिन्छ, राजनीति र समाज पनि शिखर चढे जस्तै हो ।’
अध्यक्ष दाहालले विद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर तथा क्रान्तिकारी पार्टी र संसद्वादी पार्टीबीच समझदारी गराएर गणतन्त्र र समावेशी राज्य सम्भव भएको बताए ।
उनले भने, ‘समाजवादको यात्रा गम्भीर र लामो यात्रा हो, यसका लागि व्यापक एकताको खाँचो पर्छ, हिजो जुन सपना देखेर हामी हिँडेका थियौँ ती सबै एकपल्ट एकजुट हुन जरुरी छ ।’ कार्यक्रममा चन्द नेतृत्वको विद्यार्थी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ नेता तथा कार्यकर्तालाई उनले अबिर र खादा लगाई पार्टीमा प्रवेश गराए । नेकपा प्रवेश गर्दै सचिवालय सदस्य राईले नेकपाको नेतृत्वमा नै समाजवादी क्रान्ति सम्पन्न हुने विश्वाससहित पार्टीमा प्रवेश गरेको बताए ।
प्रकाशित समय १६:१३ बजे