गृहपृष्ठ नेकपा कार्यदल दुई कित्तामा, तल्लो तहको एकता प्रतिवेदन अन्योल
नेकपा कार्यदल दुई कित्तामा, तल्लो तहको एकता प्रतिवेदन अन्योल
नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी संगठनको संगठनात्मक एकीकरण टुंगो लगाउन गठन गरेको शक्तिशाली कार्यदलका सदस्यहरुबीच मतभिन्नता बढेको छ । सदस्यबीच कुरो नमिलेपछि कार्यदलले प्रतिवेदन तयार पार्न सकेको छैन ।
मत बाझिएकै कारण दुई साताको समय पाएको कार्यदलको बैठक ५ पटक बसे पनि कुनै निष्कर्ष निस्किएको छैन । पुस १३ गते सकिएको स्थायी कमिटी बैठकले पार्टीको बाँकी सांगठनिक काम पूरा गर्न भन्दै नौ सदस्यीय कार्यदल गठन गरेको थियो । एकीकरणको प्रस्ताव नै तयार नपारी म्याद गुजारेको कार्यदल तीन साता पार गरिसक्दासमेत अन्यौलमै छ ।
नेकपाले स्थायी कमिटीले कार्यदललाई विधानका समस्या समाधान गर्ने, प्रदेश कमिटी हेरफेर गर्ने, पोलिट्ब्युरो गठनको प्रस्ताव तयार पार्ने, केन्द्रीय सदस्यको कार्यविभाजन, जिल्ला इन्चार्ज, सहन्चार्ज तोक्नेलगायतका जिम्मेवारी दिएको थियो ।
कार्यदलको पाँचपटक बसेको बैठकमा सबै विषयले प्रवेश नै पाएको छैन । प्रदेश कमिटी हेरफेर गर्ने प्रस्तावमै विवाद बढेपछि बैठक स्थगित हुने गरेको छ । बैठकमा विधान र प्रदेश कमिटी हेरफेर गर्ने तथा पोलिट्ब्युरो गठन गर्ने एजेन्डामा मात्रै छलफल भएको छ । ‘पोलिट्ब्युरो गठन कार्यका निम्ति प्रस्ताव तयार पार्दा केन्द्रीय कमिटी एकताकै मापदण्ड अपनाइनेछ, ६०–४० को अनुपातका आधारमा पोलिट्ब्युरोको प्रस्ताव तयार पार्ने विषयमा छलफल भइरहेको छ,’ कार्यदल सदस्य वेदुराम भुसालले भने ।
बैठकमा प्रदेश कमिटी हेरफेरबारेमा छलफल भए पनि संस्थापन पक्ष प्रदेश कमिटीका सदस्य हेरफेर गर्ने विषयमा सहमत हुन सकेको छैन । दोहोरो जिम्मेवारी नदिने भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेश इन्चार्जबाट हटाउने विषयमा छलफल सुरु भएको छ । नेपाल पक्षले उनीहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट मुक्त गर्नुपर्ने अडान लिँदै आएको छ । तर, संस्थापन पक्षले प्रदेश कमिटीका सदस्यले शपथ खाएर जिम्मेवारी सम्हालिसकेकाले हटाउन नसकिने दाबी गर्दै आएको छ ।
आ–आफ्ना अडानबाट दुवै पक्ष टसमस नभएपछि कार्यदल अगाडि बढ्न नसकेको सदस्यहरु बताउँछन् । यस विषयमा ठोस छलफल के हुने भन्ने बारेमा भने आगामी बैठकबाटै थाहा हुने कार्यदलका सदस्य बताउँछन् । एक सदस्यले भने, ‘दुवै पक्षको आ–आफ्नै दाबी छ । यसलाई समाधान गर्न पुराना सदस्य कसैलाई पनि नचलाउने र बरु नयाँ १० प्रतिशत सदस्य थपेर जान सक्ने मध्यमार्गी प्रस्ताव आएको छ ।’
नेकपाको कार्यदलमा ओलीनिकट महासचिव विष्णु पौडेल, शंकर पोखरेल र रघुवीर महासेठ छन् । माधव नेपाल पक्षबाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल छन् । त्यस्तै, पूर्वमाओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र लेखराज भट्ट कार्यदलको सदस्य छन् ।
प्रकाशित समय १७:१४ बजे

















