गृहपृष्ठ प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट सुरू हुने
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट सुरू हुने
प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं. प्रदेशबाट सुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ ।
चालू आवको नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आवदेखि सुरु गरिने मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ । रोजगारीको हकमा सरकारले रोजगारी हकसम्बन्धी ऐन निर्माण गरिसकेको छ । कुनै पनि नेपाली बाध्यात्मक स्थितिबाहेक रोजगारीका लागि विदेश जानु नपर्ने गरी तयारी भइरहेको मन्त्रालयका सचिव महेश दाहालले बताए ।
उक्त कार्यक्रम सुरु भएलगत्तै देशका ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खुल्नेछ । सो केन्द्रमा करारमा एक जना कर्मचारी भर्ना प्रक्रिया पनि अगाडि बढेको सचिव दाहालले जानकारी दिए ।
केन्द्रले बेरोजगारको तथ्यांक सङ्कलन गर्ने, बेरोजगार सीप र तालीम दिएर रोजगार बनाउने अवसर प्रदान गर्नेछ । सो सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढेको सो मन्त्रालयद्वारा हेटौंडामा आयोजित कार्यक्रममा जानकारी दिइएको छ ।
यस सम्बन्धमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ दुलालले विगतमा पनि यस्ता कार्यक्रम आएको तर व्यवहारमा सफल नभएको बताउँदै यो कार्यक्रमलाई सबैले सफल पार्न जोड दिनुपर्ने बताए । मन्त्रालयद्वारा प्रदेश र स्थानीय तहका प्रतिनिधिसँगसमेत छलफल गरेको छ । (रासस)
प्रकाशित समय १६:४६ बजे

















