गृहपृष्ठ नाम र राजधानी तोक्न ढिलाइ भएकोमा प्रदेश २ प्रमुखको असन्तुष्टि
नाम र राजधानी तोक्न ढिलाइ भएकोमा प्रदेश २ प्रमुखको असन्तुष्टि
प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशको नाम, भाषा तथा राजधानी तोक्न ढिलाइ भएकोप्रति असन्तुष्टि जनाएका छन् । प्रदेश सभाको पहिलो वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख कायस्थले तत्काल नाम र राजधानी तोक्न आग्रह गरे ।
‘प्रदेश सभालाई तत्काल नाम, भाषा र राजधानीको टुंगो लगाउन आग्रह गर्छु,’ उनले भने । हालसम्म प्रदेश ४, ६ र ७ ले प्रदेशको नाम र राजधानी टुंगो लगाइसकेका छन् भने १, २, ३ र ५ ले नाम र राजधानी तोक्न सकिरहेका छैनन् ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशमा कानुन निर्माण गर्न सबै दलको सहयोग प्राप्त भइरहेको बताए । प्रदेश २ सरकारले खेलकुल, रक्तदान, वृक्षारोपण जस्ता तीन दिवसीय कार्यक्रम गरी पहिलो वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा भलिबल तथा ब्याडमिन्टन खेलमा प्रथम, द्वितीय र तृतीय हुने मन्त्री तथा कर्मचारी खेलाडीलाई प्रमाणपत्रका साथै ट्रफी प्रदान गरिएको छ ।
कार्यक्रममा उत्कृष्ट प्रदेश सभा सदस्य पुरस्कार पाउन सफल सांसद शिवचन्द्र चौधरीलाई ५१ हजार नगद तथा सम्मानपत्र प्रदान गरिएको छ भने उत्कृष्ट कर्मचारीको पुरस्कार रञ्जीतराय यादवलाई ५१ हजार नगद तथा सम्मानपत्र प्रदान गरिएको छ । त्यस्तै, कबिर अनाथ बालआश्रमका बालबालिकालाई लुगा कपडा पनि वितरण गरिएको थियो ।
प्रकाशित समय ०८:०६ बजे

















