गृहपृष्ठ नेकपा एकीकरण : प्रतिवेदन बुझाउने विषयमा कार्यदलमै विवाद
नेकपा एकीकरण : प्रतिवेदन बुझाउने विषयमा कार्यदलमै विवाद
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रस्ताव बनाउन गठित कार्यदलमै प्रतिवेदन बुझाउने विषयमा विवाद भएको छ । प्रतिवेदन बुझाउन दुई साताको समय पाएको कार्यदलले झन्डै डेढ महिनासम्म पनि प्रस्ताव तयार गर्न नसकेपछि विवाद देखिएको हो । कार्यदलको प्रगति निराशाजनक देखिएपछि नेकपाको माथिल्लो निकाय सचिवालयले कार्यदलले हालकै अवस्थामा प्रतिबेदन बुझाउन निर्देशन दिएपछि कार्यदलभित्र झनै विवाद चुलिएको छ ।
सचिवालयले काम ढिलो गरेको निस्कर्ष निकाल्दै अहिलेसम्मको प्रगति विवरणसहित प्रतिवेदन बुझाउन आइतबार कार्यदललाई निर्देशन गरेको थियो । सचिवालयले प्रतिवेदन बुझेर आँफै प्रस्ताव तयार पार्ने खोजेपछि कार्यदलभित्र असन्तुष्टि बढेको नेताहरु बताउँछन् ।
प्रतिवेदनमा विधानमा जुटेको सहमतिको विषय मात्र उल्लेख रहेको र अन्य विषयमा छलफल भएको तर काम अगाडि बढाउन नसकिएको उल्लेख गरिएको जनाइएको छ । सचिवालयको निर्देशनपछि कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेलले सोही अपुरो प्रतिवेदन बुझाउने तयारी गरेका छन् ।
काम नसकिएको भन्दै संयोजकले सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिरहँदा अरु सदस्यहरूले भने काम गर्नै नदिइएको भनी असन्तुष्टि जनाएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको कार्यदल बैठकमा सदस्यहरूले कार्यदलले काम गर्न नसकेको नभई संयोजकहरुले नै काम गर्न नदिइएको गुनासो गरे । वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, वेदुराम भुसाललगायतले प्रतिवेदन बुझाउने विषयमा आपत्ति जनाए ।
बैठकमा उनीहरुले संयोजक र महासचिवले वितरण गरेका मस्यौदा प्रतिवेदनमा असहमति जनाउदै सदस्यहरुले भएका सहमति समेत नसमेटिएको बताए ।
‘कतिपय भएका सहमति पनि प्रतिवेदनमा आएनन्, र सहमति भएका र नभएका विषय छुट्याएर सचिवालयमा बनाउनुपर्छ भन्ने सदस्यहरुको धारणा छ,’ कार्यदल सदस्य सुरेन्द्र पाण्डेले न्युज कारोबारसँग भने, ‘सहमति भएका र नभएका दुबै विषय यसो गर्दा सचिवालय सदस्यलाई समेट्दा सचिवालय सदस्यहरुलाई संगठनात्मक विषयमा निर्णय लिदा विकल्पका बारेमा छलफल गर्न सजिलो हुन्छ ।’
सचिवालयलाई प्रतिवेदन बुझाउनुअघि सहमति खोज्न कार्यदलको पछिल्लो बैठक शुक्रबार अपराह्न बस्दैछ । असन्तुष्ट सदस्यहरुले भने जतिसक्दो धेरै विषयमा सहमति जुटाएर प्रतिवेदन बुझाउनुपर्ने जोड दिँदै आएका छन् । संयोजक थापा भने अहिले भएका सहमतिलाई नै बुझाउनुपर्ने पक्षमा छन् ।
तर संयोजक थापाले जबर्जस्ती प्रतिवेदन सचिवालयमा बुझाए असन्तुष्ट सदस्यले छुट्टै प्रतिवेदन तयार गर्ने चेतावनी दिएका छन् । असन्तुष्ट सदस्यहरुको चेतावनीपछि संयोजक थापाले सघन छलफलको लागि भन्दै शुक्रबारको लागि बैठक बोलाएका हुन् । गएको जेठ ३ गते एकीकरण भएको नेकपाभित्र तल्लो तहको एकीकरण नहुँदा संगठनहरू अलपत्र छन् ।
तल्लो तह र जनवर्गीय संगठन अहिले पनि समानान्तर दुईवटा समिति छन् । एकता प्रक्रिया, पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत विषयमा प्रस्ताव तयार पार्न नेकपाले कार्यदल बनाएको हो । पुस १३ गतेको स्थायी समिति बैठकले सचिवालय सदस्य रामबहादुर थापाको नेतृत्वमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू वर्षमान पुन, शंकर पोखरेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, वेदुराम भुसाल र रघुवीर महासेठ रहेको कार्यदल बनाएको थियो ।
प्रकाशित समय १३:०२ बजे
















