गृहपृष्ठ बेलायतका तीन आइल्यान्डमा करिब ४ सय नेपाली समस्यामा, स्वदेश फर्काइदिन आग्रह
बेलायतका तीन आइल्यान्डमा करिब ४ सय नेपाली समस्यामा, स्वदेश फर्काइदिन आग्रह
सरकारले विभिन्न देशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल फर्काउने बताइरहँदा बेलायतका प्रवासी क्षेत्र तीन आइल्यान्डमा रहेका नेपालीले नेपाल फर्काइदिन आग्रह गरेका छन् । के म्यान आइल्यान्ड, टर्क एन्ड केइकस आइल्यान्ड र बर्मुडा आइल्यान्डमा कामदारका रूपमा रहेका नेपालीले नेपाल फर्काइदिन आग्रह गरेका हुन् । के म्यान र टर्क आइल्यान्ड क्यारेबियन सागरको बीचमा पर्छ भने बर्मुडा नर्थ एटलान्टिक सागरको बीचमा पर्छ ।
तीनवटै आइल्यान्ड बेलायतको ‘टेरिटोरी’ आइल्यान्ड भए पनि दूरीका हिसाबले अमेरिकाको नजिक पर्छन् । विश्वकै उत्कृष्ट पर्यटकीय क्षेत्रभित्र पर्ने ती आइल्यान्डमा होटल, रेस्टुराँलगायत पर्यटनसँग सम्बन्धित क्षेत्र र कम्पनी, सुरक्षा कम्पनी र ब्युटिपार्लरमा नेपाली कार्यरत छन् ।
के म्यानमा लकडाउनका कारण काम ठप्प भएको र ठूला तथा अन्तर्राष्ट्रिय ब्रान्डका होटलमा कार्यरत नेपालीलाई न्यूनतम तलब दिइएको भए पनि अन्य होटल तथा रेस्टुराँ, ब्युटिपार्लरलगायतका क्षेत्रमा रहेका नेपाली बेतलबी अवस्थामा रहेको के म्यान आइल्यान्डबाट रविन श्रेष्ठले जानकारी दिए । पूर्ववत् रूपमा काम सञ्चालन हुने तत्काल सम्भावनासमेत नदेखिएकाले कम्पनीहरुले समेत देश फर्कन सके फर्कन सूचित गरेको काठमाडौँका श्रेष्ठले बताए ।
बर्मुडाबाट नरेन्द्र मर्हजनले दिएको जानकारीअनुसार त्यहाँ रहने अधिकांश नेपाली होटलमा कार्यरत छन् । लकडाउनपश्चात होटलले १२ हप्तासम्मका लागि न्यूनतम तलब दिने जनाएअनुसार पाँच हप्ताको तलब नेपालीले लिइसकेका छन् । अबको सात हप्तापछि के हुने हो भनेर चिन्तित बनेको कीर्तिपुरका महर्जनले जानकारी दिए ।
यस्तै टर्क एन्ड केइकसमा रहेका लीला उप्रेतीले त्यहाँ पनि अधिकांश नेपाली होटल क्षेत्रमा कार्यरत रहेको बताए । केही समयका लागि लकडाउनको अवधिमा आधा तलब होटलले दिइरहेको उनको भनाइ छ । यो अवस्था कहिलेसम्म जाने हो यकिन नभएकाले भविष्यमा आउन सक्ने संकटले टर्क एन्ड केइकस आइल्यान्डमा रहेका कतिपय नेपाली नेपाल फर्कन खोजेको धादिङका उप्रेतीले बताए ।
ती आइल्यान्डमा नेपालीको यकिन संख्या थाहा नभए पनि के म्यानमा ३०० देखि ३५०, बर्मुडामा ६० देखि ७० र टर्क एन्ड केइकसमा ५० देखि ६० नेपाली रहेको बताइन्छ । यी आइल्यान्ड पयर्टकीय गन्तव्यभित्र पर्ने हुँदा त्यहाँ बसोबास गर्न निकै महँगो पर्छ ।
बेलायतस्थित नेपाली दूतावासका मिसन उपप्रमुख एवं प्रवक्ता शरदराज आरणले आइल्यान्डमा रहेका नेपालीसँग दूतावासको सम्पर्क भइरहेको जानकारी दिए । उनले नेपाल जाने अवस्था निर्माण भए उनीहरुलाई आवश्यक पर्ने सहयोग दूतावासबाट गरिने बताए । (रासस)
प्रकाशित समय ०८:३१ बजे

















