गृहपृष्ठ पुम्दीको शुक्रराज माविलाई बेलायतबाट आर्थिक सहयोग

पुम्दीको शुक्रराज माविलाई बेलायतबाट आर्थिक सहयोग

pumdi-newskarobar

पोखरा महानगरपालिका–२२ स्थित पुम्दीभुम्दीको शुक्रराज माविलाई बेलायतबाट आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा पूर्वविद्यार्थी सूर्य गुरुङको पहलमा ४ लाख ४२ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ ।

कालाभाङ घडेरी यूके सम्पर्क समाजका अध्यक्षसमेत रहेका गुरुङले उक्त रकम विद्यालयका प्राचार्य नरनाथ बराललाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै समाजका अध्यक्ष गुरुङले विद्यालयको भौतिक संरचनासहितको प्राविधिक विषय विद्यालयमा सञ्चालन भएकोमा खुसी व्यक्त गरे । उनले विद्यालयको गुणस्तरीय शिक्षाका लागि आवश्यक सहयोग गर्न तयार रहेको जनाए ।

विद्यालयका संरक्षक बलमान गुरुङ र प्राचार्य बरालको पहलमा बेलायतमा रहेका गुरुङलाई विद्यालयको स्वर्ण महोत्सवबारे जानकारी गराइएको थियो । बेलायतबाट करिब २२ जना सहयोगीले रकम प्रदान गरेको अध्यक्ष गुरुङले जानकारी दिए ।

विद्यालयले यो वर्ष स्वर्ण महोत्सवअन्र्तगत वर्षभर विभिन्न कार्यक्रम आयोजना गर्दै छ । विद्यालयमा हाल नर्सरीदेखि १० कक्षासम्म अंग्रेजी माध्यमबाट अध्ययन–अध्यापन हुन्छ भने प्लस टुमा व्यवस्थापन र शिक्षा संकाय गरी करिब चार सयजना विद्यार्थी छन् । विद्यालयमा हाल शिक्षक कर्मचारी गरी ३६ जना कार्यरत छन् ।

प्रकाशित समय १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु