गृहपृष्ठ ‘संघले अधिकार दिएन भन्दै योजना नल्याउने हो भने विकास असम्भव’
‘संघले अधिकार दिएन भन्दै योजना नल्याउने हो भने विकास असम्भव’
संघीय सरकारले अधिकार दिएन भन्दैमा योजना ल्याउन नछाड्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । चीनको दश दिने भ्रमणबाट फर्केपछि बिहीबार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सुर्खेत-हिल्सा सडक खण्डको विषयमा बोल्दै अन्य मुलुकसँग सिधै प्रदेश सरकारले सम्झौता गर्नको लागि अधिकार नभए पनि संघीय सरकारको ध्यानाकर्षणको लागि आफूले कुरा उठाउँदै आएको बताए । सुर्खेत-हिल्सा सडक खण्डको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको बताउँदै आफूले पहल नगरेको भए अझै त्यो काम नहुने उनको भनाइ थियो । ‘संघको अधिकार क्षेत्र हो भन्दैमा योजना नै नल्याउने हो भने प्रदेशको विकास सम्भव छैन,’ उनले भने, ‘आफ्नो प्रदेशका आवश्यकता के हो भन्ने कुरामा संघलाई झक्झकाउनु पर्छ ।’
दश दिने चीन भ्रमणबाट ठूलो सिकाई भएको भन्दै मुख्यमन्त्री शाहीले विकास गर्नको लागि एकीकृत बस्ती विकास योजना आवश्यक भएको बताए । वर्षौदखि कर्णालीका हिमाली जिल्ला र तिब्बतबीच व्यापारिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले भ्रमणले सो सम्बन्ध अझ प्रगाढ भएको बताए ।
कर्णाली करिडोर र सुर्खेत हिल्साको विषयमा विवाद नगर्न मुख्यमन्त्री शाहीले सबैलाई आग्रह गरे । ‘जसरी भए पनि कर्णालीको विकास गर्ने हो । नामको पछाडि नलागौँ । ८ घण्टामा हिल्सा पुग्ने काम कर्णाली करिडोरबाटै हुन्छ,’ उनले भने ।
प्रकाशित समय १९:३० बजे

















