गृहपृष्ठ स्थानीय उत्पादन बढेपछि पोखरामा फूल आयात घट्यो

स्थानीय उत्पादन बढेपछि पोखरामा फूल आयात घट्यो

पोखरामा गत वर्षभन्दा यस वर्ष फूल आयात घटेको फ्लोरिकल्चर एशोसिएसन (फान)ले जनाएको छ । फूलको आयात करिब ६० प्रतिशत कम भएको फानका कास्की जिल्ला अध्यक्ष सितामाया रानाले बताइन् ।

‘गत वर्ष गाडीका गाडी फूल भित्र्याइएको थियो । तर यो वर्ष त्यस्तो छै्रन,’ उनले भनिन् । आयात कम भए पनि बजारमा फूलको माग भने आफूहरुले सोचेअनुसार नभएको उनको भनाइ छ । पोखराको पृथ्वीचोक क्षेत्रमा सयपत्री फूलको व्यापार घटेको उनले बताइन् ।

फानका जिल्ला उपाध्यक्ष दिलबहादुर गुरुङले यस वर्ष स्थानीय स्तरमा गरिएको व्यवसायिक फूल खेती फष्टाएका कारण आयात घटेको बताए । उनले भने, ‘पर्याप्त वर्षा भएकाले स्थानीय स्तरमा फूलको उत्पादन बढेको छ । गाउँघरमा पनि समयमै फूल फुलेपछि बाहिरबाट हुने आयात घटेको हो ।’

पोखरामा करिब २ करोड ५० लाख रुपैयाँ बराबरको फूलको माग हुने गरेको उपाध्यक्ष गुरुङले बताए ।

प्रकाशित समय १८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु