गृहपृष्ठ कोरोनाको प्रभाव : पाल्पाली ढाका उद्योगमा

कोरोनाको प्रभाव : पाल्पाली ढाका उद्योगमा

कोरोना भाइरस संक्रमणको प्रभाव विशेष गरी पाल्पाका ढाका उद्योग, होटल रेस्टुराँ तथा अन्य व्यवसायमा परेको छ ।

लुम्बिनी र पोखराको बीच भागमा पर्ने जिल्ला सदरमुकाम तानसेनको अहिले सुनसान जस्तै बनेको छ । लुम्बिनी र पोखरा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल रहन्थ्यो । पर्यटक आउनेक्रम सुस्त भएसँगै यसको असर व्यवसायमा पुगेको हो ।

विशेष गरी पाल्पाली ढाका उद्योग र होटल व्यवसायमा सो भाइरसको संक्रमणबाट नराम्रो असर परेको सम्बद्ध व्यवसायी बताउँछन् । यहाँको पहिचानका रुपमा प्रख्यात ढाका उद्योगलाई कोरना भाइरसले असर पारेको पाल्पाली ढाका उद्योगी सागर महर्जन बताउँछन् ।

‘कोरोनाको सन्त्रासले ढाका उद्योगमा नराम्रो असर पुगेको छ । अहिले व्यापार व्यवसाय कम हुँदै गएको छ,’ उनले भने । उत्पादन भएका ढाका कपडाका सामग्री बिक्री नहुँदा त्यत्तिकै पसल उद्योगमा समय बिताएर बस्नुपरेको उद्योगी व्यवसायी गुनासो गर्छन् ।

ढाका खरिद गर्नकै लागि पर्यटक यहाँ आउने गर्छन् । तर अहिले भाइरसको सन्त्रासले विदेशी पर्यटकको चहलपहल हराउन थालेको छ । ढाका उद्योेगबाट उत्पादित विभिन्न सामग्री कोशेलीका रुपमा लैजाने चलन छ ।

विदेशी पर्यटकले ठूलो परिमाणमा ढाका कपडा खरिद गर्दा व्यापारीलाई राम्रो आम्दानी गर्ने अवसर हुन्छ । विदेशी पर्यटकको आवागमन नै कम हुन थालेपछि ढाका कपडाको व्यापार व्यवसायमा कमी आएको व्यवसायी मनोज पौडेल बताउँछन् ।

‘कोशेलीका रुपमा धेरैजसो ढाका कपडाबाट उत्पादित सामग्री बाह्य पर्यटकले खरिद गर्ने हुँदा व्यवसायी उद्योगीलाई राम्रो आम्दानी आउँछ, कोरोना भाइरसको प्रभावले अहिले व्यापार नै चौपट हुने अवस्थामा छ,’ उनले भने ।

ठूलो लगानीमा उद्योग व्यवसाय सञ्चालन गरेका व्यक्ति व्यापारमा सुस्तता आउँदा मारमा परेका छन् । भाइरसले ढाका उद्योग, होटल व्यवसायसँगै हस्तकलाका उद्योग, विभिन्न साना तथा ठूला व्यवसाय प्रभावित बनेको छ ।

पर्यटकको बाक्लो उपस्थितिले होटल रेस्टुराँ भरिभराउ हुन्थे । विगत एक महिनायता सुनसान जस्तै छ । भाइरसका कारण जिल्लाका ठूलासाना सबैजसो उद्योग, व्यापार व्यवसाय प्रभावित बन्न पुगेको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं होटल व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ जानकारी दिए ।

‘व्यापार व्यवसाय नै कम भएपछि आयस्रोत नै अत्यन्त न्यूनमात्रामा छ, बाह्य पर्यटकले गर्दा ठूला व्यापार व्यवसाय, उद्योगमा सहयोग पुगेको थियो,’ उनले भने । व्यापार कम हुँदा मासिक भाडा तिर्न व्यवसायीलाई समस्या भइसकेको उनले बताए ।

सदरमुकाम तानसेनमा पनि हिजोआज अत्यावश्यक कामकाजका मात्र मानिस पुग्ने गर्छन् । घुमघाम गर्न जाने पर्यटकको चहलपहलले बजार गुञ्जायमान हुन्थ्यो । तर अहिले भने अति आवश्यक कामबाहेकका व्यक्ति कोही नभित्रिँदा सदरमुकामको वातावरण सुनसानमय बनेको छ ।

तानसेनको टुँडीखेल मैदान, श्रीनगरडाँडा, नेपालको ताजमहलका रुपमा रहेको रानीमहल दरबार, भैरवस्थान मन्दिरलगायतका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रमा पर्यटकको चहलपहल कम छ ।

प्रकाशित समय ०९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु