गृहपृष्ठ हुम्लाका आठ स्वास्थ्य संस्थालाई १ सय ५ प्रकारका औषधि वितरण
हुम्लाका आठ स्वास्थ्य संस्थालाई १ सय ५ प्रकारका औषधि वितरण
कोरोना भाइरसको न्यूनीकरण, रोकथाम र सचेतनाका लागि हुम्लाका ग्रामीण इलाकाका ८ स्वास्थ्य केन्द्रलाई कोभिड-१९ का लागि १५ प्रकारका र अन्य दैनिक प्रयोगमा आउने ९० प्रकारका औषधि उपलब्ध गराइएको छ । हुम्लामा कार्यरत सबैभन्दा पुरानो र सक्रिय स्थानीय गैरसरकारी संस्था स्वलम्बन प्रवर्द्धन विकास केन्द्र नेपालको पहल, सहजीकरण र प्राविधिक खर्चमा २५ लाख रूपैयाँ बराबरको औषधि वितरण गरिएको हो ।

यी स्वास्थ्य केन्द्रहरुमा माँसपुर सामुदायिक स्वास्थ्य इकाई, तुम्च सामुदायिक स्वास्थ्य इकाई, पिप्लांग सामुदायिक क्लिनिक, साँया स्वास्थ्य चौकी, बरगाउँ स्वास्थ्य चौकी, केर्मी सामुदायिक स्वास्थ्य इकाई, यारी सामुदायिक क्लिनिक र लिमी स्वास्थ्य चौकी रहेका छन् ।
हुम्लाको तल्लो दक्षिण क्षेत्रका लागि १५ लाख र उत्तरी क्षेत्रका १० लाख गरी जम्मा २५ लाखमा १०५ प्रकारका विभिन्न प्रकारका औषधि उपलब्ध गराइएको उक्त संस्थाका अध्यक्ष अंगबहादुर लामाले बताए । उनले भने, ‘हामी अब स्वास्थ्य क्षेत्रको विकास विस्तारका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने प्रयासमा छौं । यसमा सबैको साथसहयोगको आशा र अपेक्षा गरेका छौं ।’ 
यी स्वास्थ्य केन्द्रहरु जिल्ला र गाउँपालिकाको अति दुर्गम क्षेत्रमा पर्ने भएकाले यो सहयोगले स्थानीयहरुलाई सहयोग पुग्ने र स्वास्थ्यमा केही मात्रामा भए पनि सुधार हुने आशा गरिएको छ ।
औषधि उपलब्ध गराइएका स्वास्थ्य केन्द्रहरु स्थापना भएर पनि प्राविधिक, आर्थिक र अन्य कारणले अपेक्षित सेवा प्रवाह हुन सकेको छैन । स्वलम्बन प्रवर्द्धन विकास केन्द्र नेपालका स्वास्थ्य संयोजक कालीबहादुर भण्डारीले स्वास्थ्य संस्थाहरूलाई स्वयंसेवक स्वास्थ्यकर्मी र औषधि उपलब्ध गराउँदै आएको जानकारी दिए ।

प्रकाशित समय १२:०८ बजे
















