गृहपृष्ठ लुम्बिनीमा विश्वविद्यालयमा बीबीटीटीएम कक्षा सञ्चालन
लुम्बिनीमा विश्वविद्यालयमा बीबीटीटीएम कक्षा सञ्चालन
लुम्बिनी बौद्ध विश्वविद्यालयले केन्द्रीय क्याम्पसमा स्नातक तहमा बुद्धिजम, टुरिजम एन्ड ट्राभल म्यानेजमेन्ट (बीबीटीटीएम) विषयको कक्षा सञ्चालन गर्ने भएको छ । डिन कार्यालयमार्फत गएको वर्ष बुटवलमा पहिलोपटक उक्त विषयको पढाइ सुरु भएको थियो ।
रोजगारीको प्रशस्त सम्भावना र विद्यार्थीको आकषर्ण भएपछि केन्द्रीय क्याम्पसमा पठनपाठन सुरु गर्न लागिएको हो ।। आगामी शैक्षिक सत्रदेखि पहिलो सेमेस्टरमा भर्ना लिने तयारी भएको विश्वविद्यालयका निमित्त डिन डा. माणिकरत्न शाक्यले बताए ।
कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले बीबीटीटीएम विषय पढ्न पाउँछन् । यो नेपालमै पहिलोपटक लुम्बिनी बौद्ध विश्वविद्यालयले सुरु गरेको पाठ्यक्रम हो । त्रिभुवन विश्वविद्यालयले ट्राभल एन्ड टुर्स काठमाडौंमा मात्रै अध्यापन गराउँदै आएको छ ।
होटल, एयरलायन्स, टुर गाइड, ट्राभल एजेन्सी तथा म्यानेजमेन्टसम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने यो पाठ्यक्रमको उद्देश्य छ । आठ सेमेस्टरमा पठनपाठन हुने पाठ्यक्रमले अंग्रेजी, चिनियाँ र कोरियाली भाषामा पनि दक्ष बनाउने उद्देश्य राखेको छ ।
लुम्बिनीस्थित केन्द्रीय कार्यालयमा बीबीटीटीएम कक्षा सञ्चालन गर्नुअघि त्यस क्षेत्रका स्थानीय तहबीच छलफल आयोजना भएको छ । बुधबार भएको छलफलमा सहभागी स्थानीय तहका जनप्रतिनिधिले आफ्नो तहबाट कम्तीमा ६ जना विद्यार्थीलाई छात्रवृत्ति दिने प्रतिबद्धता जनाएका छन् ।
पहिलो वर्ष अध्ययन गर्न आउने विद्यार्थीलाई कम्तीमा ५० प्रतिशत छात्रवृत्ति दिने तयारी भएको क्याम्पस प्रमुख फणिन्द्र न्यौपानेले जानकारी दिए । छलफलमा सहभागी मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाले बौद्ध विश्वविद्यालय लुम्बिनी क्षेत्रको विकासको प्रमुख आधार भएको बताए ।
त्यस्तै, मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले पालिकाबाट छात्रवृत्ति उपलब्ध गराउने प्रस्ताव सकारात्मक रहेको जनाए । कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले बौद्ध शिक्षा र लुम्बिनीको विकास शिक्षाकै माध्यमबाट हुने विश्वास व्यक्त गरे । गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले आफ्नो क्षेत्रमा रहेको विश्वविद्यालयको योजना कार्यान्वयनमा गाउपालिकाले महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा लुम्बिनी सांस्कृति नगरपालिकाक उपप्रमुख जानकीदेवी श्रीवास्तव, निमित्त प्रमुख विष्णु ढुंगाना, गैडहवा गाउँपालिकाका प्रशासकीय अधिकृत टेकराज भट्टराई, सम्मरीमाईका प्रशासकीय अधिकृत टुकराज पाण्डे, कोटहीमाईका प्रकाशकीय अधिकृत गणेश घिमिरे, मायादेवी गाउँपालिकाका प्रशासकीय अधिकृत रोमाकान्त न्यौपाने, मर्चवारी गाउँपालिकाका प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेललगायतले विश्वविद्यालयलाई लुम्बिनीको मात्रै नभई मुलुककै गहनाका रुपमा अघि बढाउनुपर्ने बताए ।
विश्वविद्यालयले केन्द्रीय क्याम्पसमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि सञ्चालन गरिरहेको छ । त्यस्तै, प्रमाणपत्र तहसरहका भाषा कक्षासमेत सञ्चालनमा छन् । लुम्बिनी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि बीबीटीटीएम कक्षा सञ्चालन गर्न थालिएको सहायक क्याम्पस प्रमुख निरबहादुर गुरुङले जानकारी दिए ।
प्रकाशित समय २१:०१ बजे
















