गृहपृष्ठ धिमे र बाँसुरी सिक्दै झापाली नेवार
धिमे र बाँसुरी सिक्दै झापाली नेवार
जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, अहिले यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा छ ।
नेवार समुदायको भाषा र संस्कृति काठमाडौं उपत्यकामा संरक्षित भए पनि उपत्यकाबाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार बताउँछन् । ‘काठमाडौं उपत्यकाबाहिर नेवार समुदायको जनसंख्या झण्डै ५५ प्रतिशत र उपत्यकामा ४५ प्रतिशत छ,’ अध्यक्ष ताम्राकारले भने, ‘तर उपत्यकाबाहिरै नेवार समुदायको भाषा र संस्कृतिको संरक्षण हुन सकेको छैन ।’
देशभर छरिएर रहेका नेवार समुदायको भाषा र संस्कृति लोप हुँदै गएको महसुस गरेका झापाका नेवार समुदाय अहिले आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् । आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने पहलस्वरुप जिल्लाका विभिन्न स्थानमा नेवार समुदाय यतिबेला धिमे बाजा संरक्षण अभियानमा सक्रिय भएर लागेका छन् । यसबाहेक यो समुदायका युवालाई बाँसुरी बादनसम्बन्धी प्रशिक्षणसमेत दिइँदै छ ।
‘धिमे बाजं’ नेवार समुदायमा शोकबाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा हो । तर, यही बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेपछि नेवाः देय् दबू झापाले बाजाको संरक्षण गर्ने अभियान थालेको हो । पर्व र संस्कृतिका धनी नेवार समुदाय जातीय पहिचान जोगाउन प्रयत्नशील रहे पनि राज्यले खासै सहयोग नगरेको दबूका बिर्तामोड नगर समिति अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताए ।
मुलुकभर नेवार समुदायका बासिन्दा १३ लाख हाराहारी रहेको अनुमान छ । यसमध्ये ६ लाख काठमाडौँ उपत्यकामा र बाँकी उपत्यकाबाहिर बसोवास गर्छन् । भाषा, संस्कार र संस्कृतिले उपत्यकाभित्रका नेवार सक्षम रहे पनि उपत्यकाबाहिर उनीहरुको पहिचान हराउँदै गएको चिन्ता नेवार समुदायका अगुवाहरु व्यक्त गर्छन् ।
नेवार समुदायको संस्कृतिले देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्याएको दबूका केन्द्रीय अध्यक्ष ताम्राकारले बताए । ‘युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने अवस्था थियो, अहिले धेरै राम्रो काम भएको छ,’ उनले भने, ‘युवापुस्तामा पश्चिमी संस्कृतिको प्रभावका कारण आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा झापावासीको यो उत्साह सराहनीय छ ।’
‘धिमे बाजं’ नेवार समुदायमा विभिन्न चाडपर्वमा बजाउने चलन छ । यो समुदायले नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गर्छन् । अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा वैभवपूर्ण सांस्कृतिक धरोहर हस्तान्तरण हुन नसकेर संस्कृति लोप हुने अवस्थामा पुगेका बेला धिमे बाजा संरक्षणमा झापाका नेवार समुदाय लागिपरेको दबूका बिर्तामोड नगरसमिति सचिव ओमप्रकाश श्रेष्ठले बताए ।
खासगरी धिमे र बाँसुरी पहिले ज्यापू समुदायका पुरुषले मात्र बजाउने बाजाका रुपमा परिचित थियो । तर, अहिले महिलासमेत रहरलाग्दो गरी यो बाजा बजाउन अग्रसर हुन थालेको धिमे र बाँसुरी बाजाका प्रशिक्षक कृष्ण महर्जन बताउँछन् । ‘अहिले झापाको बिर्तामोड, मेचीनगरलगायतका स्थानमा यो बाजासम्बन्धी प्रशिक्षण भइरहेको छ, जहाँ युवतीहरुको पनि उत्साहजनक सहभागिता छ,’ उनले भने ।
नेवार समुदायमा बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दशैं, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षोल्लास मनाउने चलन छ । लोकप्रिय रहेको धिमे रूखको बेलनाकार टोड्कोलाई भित्रपट्टि पूरै खोक्रो बनाई दुबैतिर छालाले मोडेर बनाइएको ‘ताल बाजा’ हो । यो बाजा काठमाडौँ उपत्यकाका नेवार समुदायमा सबैभन्दा प्रचलित छ । धिमे राईहरूको च्याब्रुङ र तराईवासीको ढोलसँग आकार, प्रकार र बजाउने तरिका मिल्छ ।

सिपालु सेविका
बिर्तामोड–५ निवासी सेविका श्रेष्ठले आफ्नो समुदायको पौराणिक धिमे बाजा बजाएको टेलिभिजनमा मात्र देखेकी थिइन् । तर, अहिले स्वयं उहाँलाई धिमे बाजा बजाउन आउँछ । बिर्तामोड–९ की योजना श्रेष्ठ पनि यतिखेर धिमे बाजा बजाउन पोख्त भएकी छन् । नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउँदा खिन्न लाग्ने गरेको विगतको अनुभव छ । तर, अहिले उनी निक्कै खुसी छिन् ।
नेवाः देय् दबूको विर्तामोड नगर समितिले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि भन्दै आयोजना गरेको दुई महिने तालिममा सहभागी भएर सेविका र योजनाले यो बाजा बजाउन सिकेका हुन् । यो बाजा पुरुषले मात्र बजाउनुपर्छ भन्ने मान्यता रहे पनि सेविकाले आफैं अग्रसर भएर बजाउन सिकेकी हुन् । अहिले नेवार समुदायमा आयोजना हुने विभिन्न कार्यक्रममा उनले सहभागिता जनाउन थालेकी छन् ।
आफ्नो कला र संस्कृति लोप हुँदै गएको महसुस गरी सेविका र योजनासहित झण्डै ३९ जनाले यो बाजा बजाउन सिकेका छन् । सुरु-सुरुमा धिमे बाजा बजाउन असहज भए पनि अहिले यो बाजा बजाउँदा आनन्द आउने गरेको अर्का प्रशिक्षार्थी प्रणेश श्रेष्ठले बताए ।
सुरेन्द्र भण्डारी (रासस)
प्रकाशित समय १५:३६ बजे
















