गृहपृष्ठ मनमोहन स्मृति पोलिटेक्निकमा ४० जनालाई औद्योगिक प्रशिक्षण
मनमोहन स्मृति पोलिटेक्निकमा ४० जनालाई औद्योगिक प्रशिक्षण

मोरङको बुढीगंगास्थित मनमोहन स्मृति पोलिटेक्निकमा सुनिश्चित रोजगारीका लागि औद्योगिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिईभिटी)को समन्वय तथा स्विस सरकारको आर्थिक सहयोगमा सञ्चालित सिटिईभिटीको इन्स्योरा परियोजनाअन्तर्गत तालिम सुरु भएको हो ।
तालिम कार्यक्रम उद्घाटन गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले १ नम्बर प्रदेशको प्राविधिक विश्वविद्यालयको रुपमा अगाडि बढेको मनमोहन पोलिटेक्निकले सुरु गरेको परियोजनाबाट प्राविधिक शिक्षामा प्रदेश १ अब्बल बन्ने विश्वास व्यक्त गरे । ‘दातृनिकायको सहयोगका कारण पनि १ नम्बर प्रदेश प्राविधिक तथा स्वरोजगारमूलक व्यावसायिक शिक्षामा १ नम्बर नै बन्नेछ,’ उनले भने ।
कार्यक्रममा स्विस राजदूत एलिजाबेथ भन क्यापेलाले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनालाई पाइलट परियोजनाको रुपमा अघि बढाउन मुख्यमन्त्रीसँग छलफल चलिरहेको जानकारी दिइन् । त्यस्तै, सिटिईभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले पहिलोपटक नेपालमा प्रदेश १ को प्राविधिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकबाट तालिमको आयोजना गरिएको बताए ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले २४ महिने औद्योगिक प्रशिक्षणको आयोजना गरेको हो । साउन १ गतेदेखि तालिम सुरु गरिएको भए पनि बिहीबार औपचारिक उद्घाटन गरिएको हो ।
तालिममा २०/२० जनाको समूहमा ४० जनाको सहभागिता रहेको तालिम प्रमुख इन्जिनियर सुदिप अधिकारीले जानकारी दिए । नेपालमै पहिलोपटक नमुना परियोजनाका रुपमा मनमोहनमा तालिम सुरु भएको पोलिटेक्निकका प्रिन्सिपल सुवासश्री पोखरेलले बताए । मनमोहन स्मृति प्रतिष्ठानका सदस्य तथा सूचना प्रमुख सत्यनारायण चौधरीले पोलिटेक्निकले हालसम्म एक हजार विद्यार्थीलाई तालिम दिएकोमा ७ सय ७६ जनाले रोजगारी पाएको र बाँकीले उच्च शिक्षा अध्यन गरिरहेको जानकारी दिए ।
प्रकाशित समय १२:४६ बजे