गृहपृष्ठ राजवंशी समुदायले मनाए हुदुरधुरा जात्रा

राजवंशी समुदायले मनाए हुदुरधुरा जात्रा

‘झापा, मोरङ, सुनसरी बनाऔं, सुन्दर पर्यटकीय नगरी’ भन्ने मुल नाराका साथ कोच राजवंशी समुदायले ११ औं हुदुरधुरा जात्रा मनाएका छन् ।

कार्यक्रममा राजवंशी समुदायका परम्परागत थानहरूलाई पर्यटकीय स्थल बनाउन माग गरिए पनि सरकारले बेवास्ता गर्दै आएको राजवंशी अगुवाहरूले बताएका छन् ।

पूर्व गृहराज्यमन्त्री समेत रहेका भीमराज राजवंशीले भने, ‘सूर्य पनि पूर्वबाट उदाउँछ तर पर्यटन विकास पूर्वमै हुँदैन ।’ राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रका केन्द्रीय अध्यक्ष समेत रहेका उनले आदिबासी, जनजातिको बाहुल्य रहेको प्रदेश १ मा सांस्कृतिक पर्यटन विकासमा लाग्न तीनै तहका सरकारलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य विद्यानन्द चौधरी (राजवंशी) ले समुदायको संस्कृति संरक्षणका लागि प्रदेश सरकार र आफ्नो बजेटबाट सामुदायिक भवन बनाएको बताए । उनले राजवंशी महिलालाई आत्मनिर्भर बनाउन विभिन्न तालिम दिने उद्देश्यले बजेट छुट्याइएको जानकारी दिए ।

जात्राका क्रममा राजवंशी समुदायले जातीय पहिरन लगाएर गाउँ परिक्रमा गरेका थिए । राजवंशीको सांस्कृतिक र धार्मिक रूपमा जोडिएका कदमाहाको राजा धनपाल थान, गोविन्दपुरको राजा सनवर्षी, डाइनियाको भेडुवाथान, दादरबैरियाको रणकाली थान, डांगिहाटको धनपाल गढी, बुद्धनगरको राजा विराटको दरबार क्षेत्रको विकास गर्नु जरुरी रहेको राजवंशी अगुवाहरूले बताए ।

विकास केन्द्रले झापाका किचकबध, बधा चौधरी थान, रंगीया थान र सुनसरीका विभिन्न ठाउँको विकासमा सरकारको ध्यान नगएको गुनासो गरेको छ । विराट पर्यटन विकास समिति मार्फत वार्षिक खर्च हुने एक करोडलाई बढाएर एक अर्ब बनाउनु पर्ने केन्द्रले सरकारसँग माग गरेको छ ।

प्रकृतिका पुजारी भनेर आफूलाई चिनाउने नेपालको झापा, मोरङ र सुनसरीमा मात्रै रहेका कोच राजवंशी (कुछ बिहार राज्यका) समुदाय यस क्षेत्रका रैथाने हुन् । कुछ बिहार राज्य नेपाल, बिहार, आसाम, पश्चिम बंगाल, मेघालय, अरुणाचल, मणिपुर, त्रिपुरा, बंगलादेशमा विभाजन भएको इतिहास भए पनि एउटै राज्यबाट बाँडिएकाहरूमा परम्परागत भाषा, संस्कारमा भने भिन्नता पाइन्छ । नेपाल र भारतका राजवंशीको संस्कार र भाषामा पनि भिन्नता छ ।

कुछ बिहारबाट फैलिएका राजवंशीले स्थानीय परम्परालाई अँगाल्दा परम्परागत संस्कार लोप हुन लागेको राजवंशी अगुवा शुभराज राजवंशीले बताए । कुछ राजवंशीलाई विराट क्षेत्रका राजवंशीले ‘बंगाली राजवंशी’ भन्ने गरेका छन् ।

कोच वंशले कुछ बिहारमा राज्य गरेको र उनीहरू राजाका वंशज भएकाले राजवंशी कहलिएका हुन् । हरेक क्षेत्रका राजवंशीले आफ्नो थर पनि फरक फरक लेख्ने गरेको पाइन्छ । कोच राजवंशी नेपालमा २ लाख भन्दा बढी र विश्वमा ३ करोड भन्दा बढीको संख्यामा रहेको केन्द्रले जनाएको छ ।

तराईका अल्पसंख्यक आदिवासी, जनजाति, मधेशी, दलित तथा सिमान्तकृत समुदायको संस्कृति संरक्षण र उत्थानका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले तराईका २१ जिल्लामा तराई मधेश समृद्धि कार्यक्रम लागु गरि विभिन्न योजना सञ्चालन गरिरहेको नेकपाका १ नं. प्रदेश कमिटी सदस्य मृत्युञ्जयकुमार झाले जानकारी दिए ।

उनले निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा सुरु भएको सो कार्यक्रम अन्तर्गत कटहरी गाउँपालिका–२ मा राजवंशी समुदायका लागि सामुदायिक भवन निर्माण कार्य जारी रहेको बताए ।

प्रकाशित समय १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु