गृहपृष्ठ ओलीले बिर्सिए संसद भवन बनाउने आफ्नो घोषणा
ओलीले बिर्सिए संसद भवन बनाउने आफ्नो घोषणा

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएको दिन अर्थात फागुन ३ गते नै घोषणा गरे, ‘दुई वर्षभित्र संसद भवन बनाइन्छ ।’ उनी प्रधानमन्त्री भएको पाँच महिना भइसकेको छ । तर, दुई वर्षभित्र संसद भवन बनाउन अहिलेसम्म प्रक्रियासमेत प्रभावकारी रुपमा अघि बढाइएको छैन । संसद भवन बन्ने प्रक्रिया अघि बढेको बताइए पनि प्रगति शून्य छ ।
सभामुख कृष्णबहादुर महराले संसद् भवन बनाउने प्रक्रिया अघि बढेको बताए । ‘केही समस्याहरु थिए तर अब कुरा मिलिसकेको छ’ महराले भने, ‘पुरानै ठाउँमा भवन बन्ने छ, केही समय अघि सेनाले सो ठाउँमा आफूलाई चाहिने भन्दै आएपनि भवन बनाउन सहमति दिएको छ ।’
संसद भवन नेपाल टेलिभिजन अगाडिको पुतली बगैंचामा भवन बनाउने तयारी छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷२०७६ को वजेट भाषणमा भवन निर्माणका लागि बजेट छुट्याएको बताएका थिए । संसद् सचिवालयका प्रशासन महाशाखाका सहसचिव सुरजकुमार दुराले नयाँ बानेश्वरमा संसद् भवन भाडामा प्रयोग गरेबापत साउनबाट वार्षिक १५ करोड रुपैंया बुझाउनुपर्ने बताए ।
उनका अनुसार अहिले वार्षिक साढे १० करोड तिर्दै आइएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको छुट्टै विकास समितिले नयाँ बानेश्वरको संसद् भवनको रेखदेख र संरक्षण गर्दै आएको छ । संसद् भवनमा रुपान्तरण हुनुअघि यो भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका नामले चिनिन्थ्यो,। त्यहाँ विभिन्न सांस्कृतिक कार्यक्रम र गोष्ठी हुने गर्दथ्यो । सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव हरिहर पोख्रेलले वार्षिक भाडाका अतिरिक्त विजुली र पानीको पनि थप पैसा तिर्नुपरेको बताए ।
२०६४ सालदेखि बानेश्वरमा संसदको बैठक बस्दै आएको छ । सिंहदरवारमा रहेको पुरानो संसद् भवन काम नलाग्ने भएको र त्यसको क्षमता पनि कम भएकाले सरकारले विकल्पको रुपमा भवन भाडामा लिँदै आएको छ ।
यो पुरानो संसद् भवनलाई पछिल्लो समयमा आएको भूकम्पले पनि क्षतिग्रस्त बनाएको छ । सचिवालयले विज्ञलाई देखाएर भवन परीक्षण गर्दा पुनः सुधार गरेर बस्न योग्य छैन ।
सिंहदरवार निर्माण र मर्मतको जिम्मेवारी पाएको सिंहदरवार सचिवालय पुनर्निर्माण समितिले सुविधा सम्पन्न संसद् भवन बनाउने गुरुयोजना बनाएको छ । तर, ऊ तयारीमै अल्झिरहेको छ ।
प्रकाशित समय १०:०१ बजे