गृहपृष्ठ झगडाले छोडायो गाउँ, वडाअध्यक्षसहित कैयौँ पुरुष फरार

झगडाले छोडायो गाउँ, वडाअध्यक्षसहित कैयौँ पुरुष फरार

बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाड्न थालेका छन् । दुई पक्षबीचको झडपका कारण उनीहरुले गाउँ छाड्न थालेका हुन् । पुरुष गाउँ/घर छाडेर गएपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए । दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच झडप भएकाृे थियो । झडपपछि पनि अवस्था कोलाहलपूर्ण बन्यो । उनीहरूले प्रहरीमा जाहेरी हालाहल गरे । अन्ततः आफैं पक्राउ पर्ने डरले वडाध्यक्ष र वडा सदस्यसहित अधिकांश पुरुष गाउँ छाड्दै भाग्न थालेका हुन् ।

दुबै पक्ष गरी ४० जनाविरुद्व प्रहरीमा मुद्दा दर्ता भएको थियो । एक पक्षले वडाध्यक्ष बिन्देश्वर यादव, वडा सदस्य मुखालाल यादव, मावि कोदरकट्टीका शिक्षक चन्देश्वर यादव, आशाराम यादव, स्वास्थ्य चौकीका कार्यालय सहायक देवनारायण यादवसहित २२ लाई विपक्षी बनाएर अङ्गभङ्ग तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराएको थियो ।

यस्तै अर्को पक्षले उक्त गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन एमालेबाट उम्मेदवारी दिएका अशोक यादव, तत्कालीन माओवादीका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका इन्द्रे यादव, विजेन्द्र यादवसहित १८ लाई विपक्षी बनाउँदै सोही विषयमा मुद्दा दर्ता गराएको थियो ।

यसरी एकअर्का गरी ४० जना विरुद्ध मुद्दा दर्ता गराएपछि उनीहरू सहित आफ्नो पनि नाम जाहेरीमा भएको हुनसक्ने त्रासमा अन्य पुरुषले गाउँ छाडेको स्थानीयवासीले बताए । गाउँका अधिकांश पुरुषले गाउँ छाड्दा दशैँजस्तो पर्वमा पनि गाउँमा कुनै रोनक नदेखिएको उनीहरूको भनाइ थियो ।
एक पक्षले २२ जनाविरुद्व अङ्गभङ्ग तथा ज्यान मार्ने उद्योगअन्तर्गत र यी २२ जनाको समूहले १८ जनाविरुद्व ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराएको कडरबोना इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । दुवै पक्षको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएकाले भारतीय बजार पसेका आरोपीको खोजबिन गरी ल्याउने प्रयास भइरहेको उनले बताए । गाउँ छाडेका वडाध्यक्ष यादव गाउँपालिकाबाट पाएको सरकारी मोटरसाइकल लिएरै भारत पसेका छन् । उनी भारत पसेपछि सर्वसाधारणको कामकाज प्रभावित भएको छ ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु