गृहपृष्ठ ‘प्रचण्ड, माधव नेपाल कसैले पनि ओलीलाई हल्लाउन सक्दैनन्’
‘प्रचण्ड, माधव नेपाल कसैले पनि ओलीलाई हल्लाउन सक्दैनन्’
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का वरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी भएको भन्दै उनलाई गलाउन जनताबाहेक अरु केही विकल्प नभएको टिप्पणी गरेका छन् । उनले माधव नेपाल, प्रचण्ड वा अरु कुनै नेताको दबाबले केपी ओली नहल्लिने दाबीसमेत गरे । तर, सडक आन्दोलनले भने ओलीलाई पदच्युतसमेत गरिदिन सक्ने चेतावनी गजुरेलले दिए ।
बुधबार काठमाडौँमा आयोजित साक्षात्कारमा उनले भने, ‘प्रचण्डको अहिले प्रधानमन्त्री हुने कुनै सम्भावना छैन । प्रचण्डमात्रै होईन, ओलीको विकल्प अहिले माधव नेपाल पनि होइनन् । संविधानतः ओलीको अहिले विकल्प छैन् । सडक आन्दोलनबाट चाहीँ हटाउन विकल्पै विकल्प छन् ।’
उनले ओली नेतृत्वको सरकार असफल हुँदै गएको दाबीसमेत गरे । ‘सरकारले जनताको आँखामा छारो हाल्ने कामभन्दा अरु केही पनि गर्न सकेको छैन । यो सरकारलाई सफल सरकार भन्ने ठाउँ कतैपनि छैन्,’ उनले भने ।
नेता गजुरेलले साँढे ३३ केजी सुन प्रकरणको बारेमा सरकारले केही समय निकै हल्ला गरे पनि अहिले त्यो सुन नै गायब भएको आरोप लगाए । यस्तै निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नुले पनि सरकारलाई निरीह तुल्याएको उनको भनाइ छ ।
गजुरेलले डा. गोविन्द केसीबारे पनि बोले । चिकित्सा क्षेत्रको सुधारका लागि २७ दिनसम्म अनशन बसेर डा. केसीले सरकारसँग सम्झौता गरे पनि सरकारले सदनमा त्यससम्बन्धी कुनै काम नगरेको उनको आरोप लगाए ।
सत्तामा नभएका वामपन्थीहरुसँग आफ्नो पार्टीले एकताको लागि वार्ता तथा छलफल गरिरहेको उनले बताए ।
प्रकाशित समय १७:२८ बजे

















