गृहपृष्ठ नेपाललाई डम्पिङ साइट बन्न दिदैनौं : अर्थमन्त्री खतिवडा
नेपाललाई डम्पिङ साइट बन्न दिदैनौं : अर्थमन्त्री खतिवडा
संघीयताको पहिलो वर्षमै आर्थिक वृद्धिको हिसाब नमाग्न आङ्बोको आग्रह
अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी बस्तुमा मुलुक आत्मनिर्भर नभए पनि विश्वको सस्तो बस्तुको डम्पिङ साइट बन्न नदिने बताएका छन् । मोरङ व्यापार संघको ६३ औं साधारण सभाको शुक्रबार विराटनगरमा उद्घाटन गर्दे मन्त्री खतिवडाले सरकार विश्वको सस्तो बस्तुको डम्पिङ साइटहरुबाट मुलुकलाई बचाउन सचेत रहेको बताए ।
उनले अहिलेको अवस्थामा औद्योगिक वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउन उद्योगी व्यवसायीहरुलाई सुविधा दिन सरकार तयार रहेको जानकारी दिए । मन्त्री खतिवडाले उद्योगी व्यवसायीले औद्योगिक विकासका लागि विशेष योजना लिएर आएको खण्डमा सरकार सरकारी उद्योगहरु संचालनका लागि दिनसमेत तयार रहेको बताए ।
उनले सरकार कर, भन्सार र राजश्व उठाउने विषयमा मात्रै केन्द्रित नरहेको बताए ।
कार्यक्रममा प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले संघीयता कार्यन्वयनमा आएको एकवर्षकै अवधिमा तिव्र आर्थिक वृद्धिदरको हिसाब नमाग्न उद्योगी–व्यवसायीसँग आग्रह गरे ।
उनले तीनै तहका सरकारले औद्योगिक उत्पादन वृद्धि गर्नुपर्दछ भन्ने मान्यता राखेकोले क्रमशः उत्पादनमुखी अर्थतन्त्रको आधार बलियो हुनेमा विश्वास व्यक्त गरे । उद्योगी व्यवसायीले अहिलेको अबस्थामा आफूहरुले भोग्नु परेको समस्याका बारेमा कार्यक्रममा जानकारी गराएका थिए ।
प्रकाशित समय १८:५२ बजे

















