गृहपृष्ठ घिनाघाट-विराटचोक सडकको स्तरोन्नति गर्न प्रदेश सांसदको माग

घिनाघाट-विराटचोक सडकको स्तरोन्नति गर्न प्रदेश सांसदको माग

pradesh_sabha_pradesh1

प्रदेश-१ को सोमबारको प्रदेशसभा बैठकमा विराटनगरको घिनाघाटदेखि विराटचोक सम्मको सडकको स्तरोन्नति नभएको भन्दै सोही क्षेत्रका प्रदेशसभा सांसदले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मोरङको क्षेत्र नम्बर  ४ (ख) का सांसद विजयकुमार विश्वासले झापासँग जोड्ने छोटो दुरीको तथा संघ र प्रदेशका धेरै भिआइपी हिँड्ने  सो सडकको स्तरोन्नतिका लागि पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले सो सडक खण्डको तुरुन्तै टेन्डर आह्वान गर्न पनि प्रदेश सरकारको ध्यानाकर्षण गराए । विराटनगरदेखि पूर्वपश्चिम राजमार्ग र मोरङको पूर्वी क्षेत्र पुग्नका लागि छोटो बाटोको रुपमा प्रयोग गरिएको घिनाघाट-विराटचोक सडकको दुरी २२ किलोमिटर मात्रै छ ।

उक्त सडक नहुँदा विराटनगरबाट पूर्व जान इटहरीकै बाटो प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ । सांसद विश्वासले यसअघि पनि प्रदेशसभाको बैठकमा घिनाघाट-विराटचोक सडकलाई ४ लेनको बनाउन जोडदार माग गर्दै आएका थिए । संघीय समाजवादी फोरमकी सांसद राधा थापाले मेची नगरका विभिन्न सडकहरुको स्तरोन्नति गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले कच्ची सडकलाई ग्राभेल र ग्राभेल सडकलाई कालोपत्रे गर्नु पर्ने बताइन् ।

सांसद शौभाग्यवति देवी राईले वृक्षारोपण गर्दा मसलाको विरुवा रोप्न नहुने धारणा राखिन् । मसलाको रुखले जमिन सुख्खा बनाउने तथ्यहरु सार्वजनिक भइरहेको भन्दै प्रदेश सरकारले अध्ययनकै विषय बनाउनु पर्ने बताइन् । सडक किनारमा फलफुलको विरुवा रोपेर सडकलाई समेत आयमुलक बनाउनु पर्ने उनको सुझाव छ ।

प्रकाशित समय २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु