गृहपृष्ठ प्रदेश २ का राज्यमन्त्रीद्वारा आत्मसमर्पण
प्रदेश २ का राज्यमन्त्रीद्वारा आत्मसमर्पण
हत्या आरोप लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आत्मसमर्पण गरेका छन् । सशस्त्र सीमा सुरक्षा बलकका असई थमन विकको हत्या आरोप लागेका शर्माले जिल्ला अदालत जलेश्वरसमक्ष आत्मसमर्पण गरेका हुन् ।
सीमा सुरक्षा बलमा कार्यरत असई विकको २०१७ भदौ २५ गते मधेस आन्दोलनका क्रममा हत्या भएको थियो । सोही हत्याका ‘फरार अभियुक्त’ शर्माले सोमबार जिल्ला अदालत समक्ष आत्मसमर्पण गरेका हुन् । त्यसका लागि शर्माले आफ्ना कानुन व्यवसायी रमेशकुमार पाण्डेको सहायता लिएका थिए ।
पाण्डेमार्फत निवेदन दिँदै शर्माले आत्मसमर्पण गरेका हुन् । हत्या आरोपीलाई चौतर्फी आलोचना हुँदा हुँदै २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सामाजिक विकास राज्यमन्त्रीको सपथ दिलाएका थिए ।
जिल्ला अदालतले दोषी ठहर गरेको र उच्च अदालतमा विचाराधीन मुद्दाका ‘फरार अभियुक्त’लाई सपथ गराएपछि मुख्यमन्त्री राउतको व्यापक आलोचना भएको थियो । सपथ लगत्तै उच्च अदालत धनुषाले अदालतमा उपस्थित हुन नभए पक्राउ गर्न प्रहरीलाई आदेश जारी गरेको थियो ।
प्रकाशित समय १२:११ बजे