गृहपृष्ठ निधिको आरोप- सरकार अधिनायकवादतर्फ उन्मुख भयो
निधिको आरोप- सरकार अधिनायकवादतर्फ उन्मुख भयो
फाइल तस्बिर
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै देशमा नेपाली कांग्रेसले आँधीवेरीको सिर्जना गर्ने बताएका छन् । दुई तिहाईको बलमा सरकारले गैरन्यायिक काम गर्दै आएको बताउँदै उनले वर्तमान सरकार असफल भएको टिप्पणी गरे ।
सोमबार देशव्यापी रुपमा कांग्रेसको विरोध प्रर्दशन कार्यक्रमअन्तर्गत धनुषाको जनकपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नीधिले ओली सरकार लोकतन्त्र विरोधी, किसान विरोधी, मजदुर विरोधी, अधिनायकवादी, सर्वसतावादी र लोकतन्त्रको मूल्य मान्यता विरोधी रहेको टिप्पणी गरे ।
वर्तमान सरकार अपराधी संरक्षण गर्ने सरकार भएको आरोप लगाउंदै निधिले हालसम्म निर्मला पन्तको हत्यारालाई कारबाहीको दायरामा ल्यान नसक्नु र सांसदमा मार्च पास गरि जबर्जस्ती ऐन पारित गरिनु सरकारको गैरजिम्मेवार काम भएको टिप्पणी गरे । महंगीले आकाश छोइसके पनि सरकार यसलाई नियन्त्रण गर्न उदासिन रहेको उनको टिप्पणी थियो ।
कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीको अध्यक्षतामा जनकपुरको रेल्वे स्टेशन परिसरमा कोणसभालाई सम्बोधन गर्दै निधिले सरकारले संसदमा मर्यादापालक लगाएर नियम कानुन मिचेर जर्बजस्ती कानुन पास गर्ने जस्तो अपराध गरिरहेकोले जनता कम्युनिस्ट सरकारबाट सचेत हुनुपर्ने बताए ।
उनले कम्युनिस्ट सरकारले जनकपुर चुरोट कारखानालाई पनि प्राईभेट पब्लिक साझेदारीको नाममा बेच्ने र कमिसन खाने योजनामा रहेकोले प्रदेशका जनतालाई आन्दोलनका लागि तयार रहन आग्रह गरे । प्रदेशका जनता नक्कली मधेशवादी दलहरुको विरोधमा ओर्लन तयार रहनुपर्ने उनले उल्लेख गरे ।
प्रकाशित समय २२:१५ बजे

















