गृहपृष्ठ फङ्सन नबनेका कारण जनप्रतिनिधिलाई समस्या : दाहाल
फङ्सन नबनेका कारण जनप्रतिनिधिलाई समस्या : दाहाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३ नम्बर प्रदेशका अध्यक्ष नारायण दाहालले नेकपा सांगठानिकरुपमा एक भई नसकेको कारण जनप्रतिनिधिलाई काम गर्न समस्या भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी ललितपुरको पार्टी कार्यलयको उद्घाटन कार्यक्रममा दाहालले यस्तो बताएका हुन् ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच निर्वाचनको समयमा गठबन्धन गरी जेठ ३ गते पार्टी एकताको घोषणा गरेका थिए । यद्यपी जिल्ला र प्रदेश तहको एकताले भने अझै पनि पूर्णता पाउन सकेको छैन ।
‘दुई ठूला पार्टी एक भएपछि सांगठानिक एकतामा केही ढिलाई भएको छ, जनप्रतिनीधिहरु पार्टीको माताहतमा रहेर चल्ने हो,’ दाहालले भने, ‘पार्टीको फङ्सन नबनेकाले जनप्रतिनीधिहरुलाई जनताको काम गर्न समस्या भएको छ ।’
कार्यक्रममा ललितपुर क्षेत्र नम्बर ३ की सांसद पम्फा भुसालले पनि पार्टीको सांगठानिक एकता नभएको कारण संसदहरुलाई काम गर्न गाह्रो भएको बताइन् । पार्टी एकतापछि नेताहरुको स्पष्ट जिम्मेवारी नभएको कारण कसले भनेको मान्ने र कसले भनेको नमान्ने भन्ने विषयमा समस्या रहेको उनको भनाई थियो ।
प्रकाशित समय १८:२१ बजे

















