गृहपृष्ठ पोखरामा एकीकृत सम्पत्ति कर गत वर्षभन्दा पाँच गुणा धेरै
पोखरामा एकीकृत सम्पत्ति कर गत वर्षभन्दा पाँच गुणा धेरै
पोखरा महानगरको प्रस्टीकरण– कर बढेको होइन, घरजग्गाको मूल्यांकन बढेको हो
पोखरा महानगरपालिकामा गत वर्ष ३ सय ६० रुपैयाँ एकीकृत सम्पत्ति कर बुझाएका एक सेवाग्राहीले यो वर्ष करिब ५ गुणा बढी तिरेका छन् । पोखरा महानगरपालिका–१८ र ६ वडामा गरी एउटा घरसहित ६ रोपनी क्षेत्रफलको गोविन्द तिमिल्सिनाले महानगरपालिकामा एकीकृत सम्पत्ति करबापतको एक हजार ८ सय ५० रुपैयाँ राजस्व तिरेका हुन् ।
तिमिल्सिना प्रतिनिधि पात्रमात्र हुन् । सबै सेवाग्राहीले गत वर्षको तुलनामा महानगरपालिकाले अत्यधिक राजस्व बढाएको दुखेसो गर्दै आएका छन् । पोखरा महानगरपालिका क्षेत्रको घरजग्गाको मूल्यांकन बढेसँगै जनतालाई राजस्वको भार बढेको हो ।
पोखरा महानगरपालिकाका लेखा अधिकृत एवं कर शाखा प्रमुख छविलाल शर्मा तिमिल्सिनाले महानगरपालिकाले राजस्व वृद्धि नगरेको दाबी गरे । ‘महानगरपालिकाले एकीकृत सम्पत्ति करमा एक रुपैयाँ पनि बढाएको छैन,’ उनले भने, ‘मालपोत कार्यालयले घरजग्गाको मूल्यांकन बढाएकाले सोही आधारमा सेवाग्राहीले बढी कर तिर्नुपरेको हो ।
मालपोत कार्यालयले गरेको मूल्यांकनका आधारमा ५० प्रतिशतमात्रै मूल्यांकन गरी राजस्व लिने गरिएको अधिकृत शर्माले बताए । उनका अनुसार महानगरपालिका क्षेत्रमा करिब ३० देखि ५० प्रतिशतजसो घरजग्गाको मूल्यांकन बढेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला मालपोल कार्यालयका प्रतिनिधिसहितको टोलीले पोखरा महानगरको घरजग्गाको मूल्यांकनमा करिब ३० देखि ५० प्रतिशत वृद्धि गरेको छ । जसको असर एकीकृत सम्पत्ति करमा परेको हो ।

कास्कीका प्रमुख मालपोत अधिकृत ज्ञानराज पाण्डेले जनप्रतिनिधिसँगकै समन्वयमा महानगरभित्र ३० देखि ५० प्रतिशत र चारवटा गाउँपालिकामा ८ देखि शतप्रतिशतसम्म मूल्यांकन बढाइएको बताए । गाउँबस्तीमा सुविधा पुगेसँगै होटल, रेस्टुराँ एवं जलविद्युत् आयोजना सञ्चालन भएको आधारमा पनि जग्गाको मूल्यांकन बढाइएको उनको प्रस्टोक्ति छ । ‘मालपोल कार्यालयसहितको टोलीले घरजग्गाको मूल्यांकनका आधारमा महानगरपालिकाले ५० प्रतिशत मूल्यांकन गरी राजस्व संकलन गरेको छ,’ उनले भने, ‘यसमा महानगरपालिकाले आफैं पनि विचार गर्न सक्छ ।’
एकीकृत सम्पत्ति कर पुस मसान्तभित्र बुझाउँदा महानगरपालिकाले १० प्रतिशत छुट दिएको छ । बक्यौता करमा २ प्रतिशत र करदाताले झुटो विवरण दाखिल गरेमा १० प्रतिशत जरिवानाको व्यवस्था रहेको कर शाखा प्रमुख तिमिल्सिनाले जानकारी दिए ।
महानगरपालिकामा एक लाखदेखि ५ लाखसम्मको घरजग्गाको एकीकृत सम्पत्ति करमा एक सय रुपैयाँमात्र तिरे पुग्छ । त्यस्तै ५ लाखदेखि १० लाखसम्म २ सय, १० लाखदेखि १५ लाखसम्म तीन सय, १५ लाखदेखि २० लाखसम्म ४ सय, २० लाखदेखि ३० लाखसम्म ७ सय, ३० लाखदेखि ४० लाखसम्म १ हजार २ सय, ४० लाखदेखि ५० लाखसम्म २ हजार, ५० लाखदेखि ७० लाखसम्म ३ हजार ५ सय, ७० लाखदेखि १ करोडसम्म ६ हजार, १ करोडदेखि १ करोड २५ लाखसम्म १२ हजार र ४ करोडदेखि ५ करोडसम्म ५५ हजार राजस्व तिर्नुपर्ने हुन्छ । त्यस्तै, ५ करोडदेखि माथि प्रतिहजार २ रुपैयाँ राजस्व संकलन गर्ने गरेको छ । पोखरा क्षेत्रमा एकीकृत सम्पत्ति करको राजस्व वृद्धि भएको भन्दै पोखरेलीहरुले विरोध जनाउँदै आएका छन् ।
प्रकाशित समय १७:२३ बजे

















